भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश पनि कमजोर हुने बताएका छन् ।
भक्तपुरको नगरकोटस्थित चाँगुनारायण नगरपालिका–८, चरेलीमा शनिबार आयोजित एमाले जनसङ्गठन समन्वय संयन्त्रको दुईदिने कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले देश सङ्कटपूर्ण अवस्थामा रहेकाले पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउनुपर्ने बताए ।
उनले व्यक्तिगत स्वार्थ र दोषारोपणभन्दा माथि उठेर पार्टी र देशको हितमा केन्द्रित हुनुपर्ने समय आएको बताउँदै जनसङ्गठनहरू एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।
देश र जनताको हितमा सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई निरन्तर खबरदारी गरिरहने बताए । दुईदिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने स्पष्ट सन्देश दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगर तथा एमालेबाट मन्त्री पदमा शपथ लिएका दुई मन्त्रीलाई सम्मान गरेका थिए ।
कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए ।
जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले सचिव महेश बस्नेतलगायत करिब १५० जना नेता तथा प्रतिनिधि कार्यशालामा सहभागी छन् ।












प्रतिक्रिया