काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टीभित्र विवाद चर्किरहेका बेला ‘विशेष महाधिवेशन’ पक्षबाट आयोजना हुने अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।
कोइरालाले विशेष महाधिवेशन पक्षका गतिविधिलाई ‘अवैधानिक र विभाजनकारी’ भन्दै त्यस्ता कार्यक्रम आयोजना नगर्न र नगराउनसमेत अपिल गरेका हुन् । उनले पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई यस्तो गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन् ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उनको भनाइ छ । सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डिभिजन इजलासको निर्णयविरुद्ध पुनरावलोकनका लागि दिएको निवेदनमा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको अनुमति (निस्सा) दिइसकेको कोइरालाले उल्लेख गरेका छन् ।
मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको निर्णय गरी कार्यतालिका सार्वजनिक गर्नुले थप विवाद निम्त्याउने उनको तर्क छ ।
विशेष महाधिवेशनका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति नै समानान्तर रूपमा विभाजित भएको भन्दै कोइरालाले थप अधिवेशन वा महाधिवेशन गरिए पार्टीका तल्लो तहसम्मै संरचनागत विभाजनको अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
पार्टी विभाजनको असर आगामी स्थानीय तह तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत पर्न सक्ने उनको भनाइ छ । कांग्रेसलाई सुदृढ, सबल र गतिशील बनाउन अहिले पार्टीभित्र सांगठनिक तथा भावनात्मक एकता कायम गर्नु आवश्यक रहेको कोइरालाले बताएका छन् ।












प्रतिक्रिया