काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् ।
ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयअगाडि धर्नामा रहेका वित्तीय पीडितलाई भेट्न पुगेकी पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनरत महिला तथा पीडितहरूको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले पीडितका माग तथा समस्याबारे जानकारी लिँदै सरकार गम्भीर भएर समाधानका उपाय खोज्नुपर्ने बताइन् । विगतको अन्तरिम सरकारले पीडितका समस्याबारे गरेका सम्झौताको स्मरण गराउँदै उनले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिइन् ।
धर्नास्थलमा पीडितहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘धेरै आमा, दिदीबहिनी र नानीहरू केही दिनदेखि आन्दोलनमा हुनुहुन्छ भन्ने जानकारी पाएपछि उहाँहरूको स्वास्थ्य अवस्था बुझ्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन म यहाँ आएकी हुँ । यस समस्यालाई जरैदेखि समाधान गरेर दिदीबहिनीहरूको स्वास्थ्यमा प्रतिकूलता नआओस् र उहाँहरूले फेरि दुःख भोग्न नपरोस् भन्ने मेरो चाहना छ ।’
पूर्वराष्ट्रपति भण्डारीले सामाजिक न्यायका लागि भइरहेको पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाएकी छन् । आन्दोलनरत पीडितहरूले आफ्ना समस्या तथा पीडा राखेका थिए । पीडितका तर्फबाट एक सहभागीले आफूहरू चार दिनदेखि धर्नामा रहेको र कतिपय पीडित सुनसरीको इनरुवाबाट १९ दिन पैदलयात्रा गरेर काठमाडौँ आएको जानकारी गराएका थिए ।
पीडितहरूले धर्नास्थलमा तत्काल घुम्ती शौचालय तथा सुरक्षित बासस्थानको व्यवस्था गरिदिन पूर्वराष्ट्रपति भण्डारीसँग आग्रह गरेका थिए । लघुवित्त, सहकारी तथा मिटरब्याजका कारण समस्यामा परेको दाबी गर्दै सर्वसाधारणले न्यायको मागसहित पछिल्लो समय काठमाडौँकेन्द्रित आन्दोलन गर्दै आएका छन् ।












प्रतिक्रिया