राजनीति-समाज

१५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन्छ : सभापति थापा

१५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन्छ : सभापति थापा


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशअनुसार तोकिएकै समयभित्र १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले समयको चापलाई ध्यानमा राखेर निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

Advertisement

उनले कांग्रेस अहिले संवैधानिक व्यवस्था, पार्टी विधान र अदालतको फैसलाले बाँधिएको उल्लेख गरे । यसपटक क्रियाशील सदस्यताको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गरिएकाले विगतको तुलनामा प्रक्रिया सहज हुने अपेक्षा व्यक्त गर्दै उनले सदस्यता व्यवस्थापनमा कुनै पनि प्रकारको अनियमितता वा पूर्वाग्रह हुन नहुनेमा सचेत गराए ।

महाधिवेशनको औपचारिक प्रक्रिया सुरू भइसकेको जानकारी दिँदै सभापति थापाले निर्वाचन समितिले तय गरेको कार्यतालिका पूर्णरूपमा पालना गरिने स्पष्ट पारे । केन्द्रीय कार्यसमितिले असोज १६ गतेलाई महाधिवेशनको अन्तिम मिति र काठमाडौँलाई स्थान तोकिसकेकाले सोही मितिलाई आधार बनाएर जिल्ला तथा अन्य तहका अधिवेशन सम्पन्न गर्न उनले आग्रह गरे ।

उनले भने, ‘अदालतले असोज १६ गतेलाई महाधिवेशनको अन्तिम आधार मानेको छ। त्यसैले हामीसँग अब समयको सुविधा छैन । हामीले अत्यन्तै छोटो अवधिभित्र सबै प्रक्रिया टुङ्ग्याउनुपर्ने चुनौती छ । अधिवेशनको प्रक्रिया टुङ्गिँदै गर्दा कुनै पनि प्रश्न नउठ्ने गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम सम्पन्न गर्नुपर्नेछ ।’

सभापति थापाले जिल्ला तहमा हुने अधिवेशनमा कानुन व्यवसायी, शिक्षक, प्राध्यापकलगायत विभिन्न पेसाकर्मीलाई समेत सहभागी गराई प्रक्रिया थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

विधानमा भएका नयाँ व्यवस्था, निर्वाचन निर्देशिका तथा नियमबारे स्पष्ट भएर अघि बढ्दा भविष्यमा आउन सक्ने कानुनी जटिलता कम हुने उनको भनाइ छ । उनले निर्वाचन समितिलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्दै महाधिवेशन प्रक्रियामा सबै पक्षले अपनत्व महसुस गर्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।