काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जननायक बिपी कोइरालाका विचार र निर्णयहरूलाई नेताहरूले आफ्नो अनुकूलता र सुविधाअनुसार मात्रै व्याख्या गर्न नहुने बताएका छन् ।
आइतबार लेखक धर्म गौतमद्वारा लिखित पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले बिपी कोइराला केवल एक राजनीतिक दलका नेता मात्र नभई समयभन्दा अगाडि देख्न सक्ने महान् चिन्तक भएको उल्लेख गरे ।
सभापति थापाले २०३३ सालमा बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति तत्कालीन परिवेश, सार्वभौमसत्ता, र लोकतान्त्रिक मूल्य–मान्यतासँग जोडिएको ऐतिहासिक निर्णय भएको प्रस्ट पार्दै अहिलेको राजनीतिमा स्वार्थ पूरा गर्न रातारात बिपीलाई सम्झने र आफूलाई जे मन लाग्छ त्यहीअनुसार बिपीको नाम दुरुपयोग गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए ।
उनले पछिल्लो समय कांग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’ को प्रसङ्गमा बिपी कोइरालालाई सम्झिने गरेको टिप्पणी गरे । उनले राजनीतिक सफलता र असफलताको परिभाषा पद वा सत्ता प्राप्तिमा मात्र सीमित हुन नहुने धारणा राखे ।
सभापति थापाले लेखक धर्म गौतम जस्ता पुराना पुस्ताका सयौँ–हजारौँ निष्ठावान् कार्यकर्ताहरूले जीवनभर गरेको त्याग र समर्पणकै कारण आज मुलुकमा लोकतन्त्र सम्भव भएको स्मरण गरे ।
कति पटक मन्त्री, सांसद वा मेयर बनियो भन्ने आधारमा मात्रै व्यक्तिको राजनीतिक मूल्याङ्कन गर्दा निष्ठाको राजनीति ओझेलमा पर्ने उनको भनाइ थियो ।
इतिहासका वास्तविक संस्मरण र त्यागका कथाहरू नयाँ पुस्तामाझ पुर्याउन यस्ता ऐतिहासिक पुस्तकहरू अत्यन्तै महत्त्वपूर्ण र आधिकारिक दस्तावेज हुने थापाले बताए ।












प्रतिक्रिया