न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले आदिवासी जनजाति मन्त्रालय गठन गर्नुपर्ने माग नेपाल सरकारसँग गरेको छ ।
३२औँ विश्व आदिवासी दिवस मनाउने क्रममा फिप्नाले सो माग गरेको हो । न्युयोर्कमा सयौँ नेपाली तथा अन्य शुभेच्छुकहरूको सहभागिताबीच अगष्ट नौ तारिखमा सम्पन्न विश्व आदिवासी दिवसको कार्यक्रममा नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै फिप्नाले सो माग गरेको हो ।
नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति र मौलिक पहिचानसहितको मुलुक भएकोले सबैको भावनालाई समेट्दै मन्त्रालय नै गठन गर्नु अहिलेको आववश्कता भएको दाबी गरिएको छ ।
विश्व आदिवासी दिवस मनाउने क्रममा विभिन्न झाँकी, परम्परागत पोसाक, सांस्कृतिक नृत्य तथा विभिन्न कलात्मक प्रस्तुति दिइएको थियो ।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धर्मगुरु खेन रिन्पोचे साङ्गे रङ्गजुङ विशिष्ट अतिथि तथा समिर महर्जन ग्रान्ड मार्सलका रूपमा सहभागी भएका थिए । नेपाल आदिवासी जनजाती महाँसंघ अमेरिका, फिप्नाका अध्यक्ष पासाङ दोर्जे शेर्पा एपी लामाले प्रमुख तथा विशिष्ट अतिथिहरूलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
महासंघका महासचिव सुमन थाम्सुहाङ लिम्बुले कार्यक्रम सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष शम्भु राईले अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष पासाङ दोर्जे शेर्पा एपी लामा नेपालका आदिवासी जनजातिको भाषा, धर्म, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि राज्यको भूमिका अझ सशक्त र परिणाममुखी हुनुपर्ने बताए । उनले आदिवासी जनजातिका साझा विषय तथा सवालहरूलाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न नेपाल सरकारले छुट्टै ‘आदिवासी जनजाति मन्त्रालय गठन गर्नुपर्ने माग गरे ।
अध्यक्ष शेर्पाले आदिवासी जनजातिका अधिकार प्राप्तिका लागि विगतमा अग्रजहरूले गरेको सङ्घर्ष, त्याग र बलिदानको स्मरण गर्दै ती सङ्घर्षबाट प्राप्त संवैधानिक अधिकारलाई केवल दस्तावेजमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
न्युयोर्कको व्यस्त सहरमा प्रस्तुत गरिएको भव्य सांस्कृतिक झाँकी तथा विविध कार्यक्रमले प्रवासमा रहेका नेपाली आदिवासी जनजाति समुदाय आफ्नो मौलिक पहिचान, अधिकार र सांस्कृतिक अस्तित्वप्रति सचेत, जागरुक र संगठित रहेको सन्देश दिएको आयोजकको दाबी छ ।
कार्यक्रममा विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, युवा, विद्यार्थी, कलाकार, सञ्चारकर्मी तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता थियो ।
३२औँ विश्व आदिवासी दिवस सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग पुर्याउने सम्पूर्णप्रति नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।












प्रतिक्रिया