काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले मुलुक पहिले नालायक नेतृत्वबाट शासित भए पनि अहिले लफङ्गाहरूको शासन रहेको टिप्पणी गरेका छन् ।
उनले वर्तमान राजनीतिक अवस्था थप चिन्ताजनक बन्दै गएको बताउँदै यही प्रवृत्ति कायम रहे मुलुकले गम्भीर राजनीतिक दुर्घटना र क्षति व्यहोर्न सक्ने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै भुसालले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि आफूले यस्तै निष्कर्ष सार्वजनिक गरेको स्मरण गराए । उनले साढे चार महिनायता देखिएका राजनीतिक गतिविधिले आफ्नो आशंकालाई थप पुष्टि गरेको दाबी गरे ।
‘मैले फागुन २१ को दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष के निकालेँ भने मुलुक नालायकहरूबाट त शासित छँदै थियो, अब लफङ्गाहरूबाट शासित हुने भयो भनेर भिडियो नै राखेको थिएँ । त्यसमा गलत साबित हुन पाऊँ भनेर पनि भनेको थिएँ । तर, यहाँ साढे चार महिना जति बित्यो । आज जे देखिएको छ त्यसले अझ डरलाग्दो क्षति र थप राजनीतिक दुर्घटनाहरू घट्ने जोखिम छ’, उनले भने ।
भुसालले कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्दै वामपन्थी शक्तिहरू थप सशक्त भएर जनतामाझ जानुपर्ने आवश्यकता औँल्याए ।












प्रतिक्रिया