राजनीति-समाज

कांग्रेसलाई एक बनाउन देउवा र युवा पुस्ताको भूमिका : गच्छदार

कांग्रेसलाई एक बनाउन देउवा र युवा पुस्ताको भूमिका : गच्छदार


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्व तह र दोस्रो पुस्ताका नेताहरूको काँधमा आएको बताएका छन् ।

नेपाली कांग्रेसको संस्थापनइतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गच्छदारले पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापासहितका नेताहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे ।

Advertisement

उनले पूर्वसभापति देउवालाई गुटबन्दीभन्दा माथि उठेर अभिभावकीय भूमिका खेल्न सुझाव दिँदै पार्टी र देशको हितका लागि सबैलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे ।

गच्छदारले १६ बुँदे सहमतिमार्फत संविधान निर्माणमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै आफू कानून, नीति र सिद्धान्तबारे स्पष्ट रहेको बताए । कार्यक्रममा डा शशांक कोइराला, डा शेखर कोइराला र शेरबहादुर देउवाको उपस्थितिलाई सकारात्मकरूपमा व्याख्या गर्दै उनले नेतृत्व तहमा सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘तपाईं पार्टीको मात्र नभई देशकै नेता हुनुहुन्छ । राजनीतिमा व्याप्त विसंगति र ‘डर्टी गेम’ बाट मुक्त हुँदै देश र पार्टीको हितका लागि व्यक्ति र समूहभन्दा माथि उठ्न आवश्यक छ । तपाईंले चाहेमा पार्टीको विवाद टुङ्गो लाग्न सक्छ ।’

युवा पुस्तातर्फ सङ्केत गर्दै गच्छदारले नेतृत्वमा आएका नयाँ पुस्ताले राजनीतिक संवेदनशीलता, करुणा र मानवीय पक्षलाई आत्मसात् गर्नुपर्ने बताए । सभापति गगन थापाले केही समयअघि व्यक्त गरेको ‘करुणा’ शब्दको चर्चा गर्दै उनले राजनीतिमा मानवीय भावना र सहिष्णुताको महत्त्व रहने धारणा राखे ।

पार्टीभित्र पुरानो र नयाँ पुस्ताबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै गच्छदारले सबैलाई समेट्ने नेतृत्व नै वर्तमान आवश्यकता भएको जिकिर गरे ।