काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र लोकतान्त्रिक पद्धतिविपरीत गरिने कुनै पनि गतिविधिले कांग्रेसको संगठनलाई हित नगर्ने बताएका छन् ।
कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले निर्वाचन आयोगको भूमिका, संविधान कार्यान्वयन तथा पार्टीभित्रको पछिल्लो विवादबारे कडा टिप्पणी गरे ।
सिटौलाले वर्तमान संविधानले शान्ति, लोकतन्त्र, समृद्धि र राष्ट्रिय स्वाधीनताको परिकल्पना गरेको उल्लेख गर्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकता र समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताए । लोकतान्त्रिक समाजवादको सिद्धान्तअनुसार राज्यले विपन्न वर्गप्रति दायित्व निर्वाह गर्नुपर्ने बताए ।
पार्टीको आन्तरिक विवादमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै सिटौलाले आयोगको कार्यशैलीमाथि प्रश्न उठाए । पार्टीको आधिकारिक नेतृत्व र कार्यसमितिलाई जानकारी नदिई विशेष महाधिवेशनलाई मान्यता दिनु न्यायसंगत नभएको उनको भनाइ छ ।
उनले भने, ‘पक्ष र विपक्षको कुरा सुन्दै नसुनी, आधिकारिक रेकर्ड नै नहेरी आयोगले कसरी यस्तो निर्णय गर्न सक्छ ? यस्तो प्रवृत्तिले निर्वाचन आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।’
सिटौलाले सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयमाथि पुनरावलोकनको ढोका खोलेको भन्दै त्यसलाई आफ्नो गल्ती सच्याउने अवसरका रूपमा लिनुपर्ने बताए । ‘हठ र अहंकारले सही गन्तव्य तय गर्न सकिँदैन’, उनले थपे ।
नेता सिटौलाले कांग्रेस सभापति गगन थापाले समेत पछिल्ला निर्णय तथा प्रक्रियामा भएका गल्ती सच्याएर पार्टीलाई विधि, विधान र लोकतान्त्रिक पद्धतिअनुसार अघि बढाउन पहल गर्नुपर्ने धारणा राखे । उनले सर्वोच्च अदालतको पूर्ण इजलासबाट नेपाली कांग्रेसले न्याय पाउने विश्वाससमेत व्यक्त गरे ।












प्रतिक्रिया