काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापाको कार्यशैली र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै कडा प्रहार गरेका छन् ।
कांग्रेसको इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलामा नेता बस्नेतले थापाकै कमजोरीका कारण देशको ठूलो र बलियो पार्टी कांग्रेस अहिले कमजोर बनेको आरोप लगाए ।
‘बुढापाकाले भन्नुहुन्थ्यो– बोकाले दाइँ हुने भए गोरु किन चाहिन्थ्यो ? अहिले कांग्रेसमा त्यस्तै भएको छ,’ बस्नेतले व्यङ्ग्य गर्दै भने, ‘शेरबहादुर देउवाको नेतृत्वमा सबैतिर बहुमत र राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति रहेको कांग्रेस अहिले गगनको नेतृत्वमा सानो साइजमा खुम्चिएको छ। आज पार्टी चल्न सकेको छैन, भष्म खरानी भएको छ।’
आफ्नो सम्बोधनका क्रममा बस्नेतले गगन थापाले विगतमा सार्वजनिक रूपमा गरेको राजनीतिक विश्रामको घोषणालाई समेत स्मरण गराए। थापाले नेतृत्व सम्हाल्ने र हाँक्ने नैतिक आधार गुमाइसकेको दाबी गर्दै उनले भने, ‘गगन थापाले ५५ वर्ष पुगेपछि राजनीति छाड्छु भन्नुभएको थियो, अहिले ५२ वर्ष भइसक्नुभयो ।
बस्नेतले भने, ‘के अब आगामी चुनावमा गगन थापा उम्मेदवार नहुने हो ?’ उनले भने, ‘गगन थापाले राजनीति छाड्न तयार रहे म पनि आउँदो चुनावमा उम्मेदवारी दिन्न ।’ मुलुकको विद्यमान जटिल राजनीतिक परिस्थितिलाई सही निकास दिन र आन्तरिक कलहमा फसेको पार्टीलाई पुनः एकजुट बनाउन शेरबहादुर देउवाको नेतृत्व नै अपरिहार्य रहेको बस्नेतको दाबी छ।












प्रतिक्रिया