काठमाडौँ । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा १६९ दिनपछि बिहीबार नेपाल फर्किने भएका छन् । गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा मतदानसमेत भाग नलिई देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।
उनी यस्तो बेला सिंगापुर प्रस्थान गरेका थिए कि देशमा उनकै पार्टी नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेर उनको नेतृत्व खोसेको थियो । कांग्रेसको आधिकारिकतासमेत गगन थापालाई दिने निर्णय निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मले गरेको थियो । उनले सुदूरपश्चिममको डडेलधुराबाट फेरि एकपटक चुनाव लड्ने भित्री मनसाय बनाए पनि देउवालाई टिकटै नदिने र अब देउवाले लड्न नपाउने भनी कांग्रेसमा गगन थापाहरुले एक खालको अघोषित प्रतिबन्धजस्तै लगाएका थिए ।
यस्तो बेला देउवा चुनावमा समेत मतदान नगर्ने गरी सिंगापुर प्रस्थान गरेका थिए । त्यसयता देशमा रास्वपा सबैभन्दा ठूलो दलको रुपमा मात्र उदाएन, कांग्रेस इतिहासकै सबैभन्दा कमजोर चुनावी परिणाम लिएर अहिले सदनमा प्रमुख प्रतिपक्षीको भूमिकामा छ । त्यसबीच देउवा र उनको परिवारमाथि सम्पति छानबिन गर्न सरकारले थालनी गरेको छ । उनीविरुद्ध दुईपटकसम्म रेडकर्नर नोटिससमेत नेपाल प्रहरीले जारी गर्न खोज्दासमेत इन्टरपोलले प्रक्रिया र कागजात नपुगेको भन्दै अस्वीकार गरिदिएको थियो ।
त्यसपछि देउवाको तर्फबाट सर्वोच्चमा आफूलाई नपक्रन भन्दै अन्तरिम आदेश माग गरेर रिटसमेत दर्ता गरियो । अदालतले सरकारका नाममा अन्तरिम आदेशसमेत जारी गरेको अवस्था अहिले छ । कांग्रेसको सस्थापन पक्ष महाधिवेशन तयारीमा लागेको र सर्वोच्च अदालतले उनी स्वयम र निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवेदनका आधारमा फेरि कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ गर्ने निस्सा दिएको छ । सस्थापन इतर समूहले राष्ट्रिय भेला बोलाएको अघिल्लो दिन देउवा आफनो १६९ दिनको विदेश बसाइ टुङ्ग्याएर नेपाल फर्किन लागेका हुन् ।
उनीसँगै उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छोरा जयवीर देउवा फर्किन्छन् कि फर्किदैनन्, अनुत्तरित छ । यो बारेमा कांग्रेसका देउवा पक्षका नेताहरुले केही बताएका छैनन् । देउवा परिवारले पनि देउवामात्रै फर्किन लागेका हुन् वा आरजुसहित फर्किन्छन् भन्नेबारे केही खुलाएका छैनन् । कांग्रेसमा देउवा पक्षधर नेता डा. प्रकाशशरण महतले यसबारेमा अहिले केही आफूहरुलाई जानकारी नरहेको बताएका छन् ।
उनले देउवा फर्किने बारेमा मात्र आफूहरुलाई थाहा भएको बताएका छन् । खासमा देउवा मङ्गलबार नै स्वदेश फर्किने तयारीमा थिए । तर, उनको स्वागतका लागि सस्थापन इतरका कांग्रेस नेताहरुले विमानस्थलमा भव्य तयारी गर्ने बताएपछि बिहीबारमात्रै देउवा फर्किन लगेका हुन् ।
कांग्रेस नेता मीन विश्वकर्माले पनि देउवा नेपाल आउन लागेको तर आरजु राणाका बारेमा भने थाहा नभएको बताए । उनले भने, ‘‘देउवा दाइ नेपाल आउन लाग्नुभएको हो। तर, आरजु म्याडम र छोरा आउने नआउने विषयमा हामीले पनि सोधेका छैनौँ, उहाँहरुले पनि केही बताउनु भएको छैन । यसबारेमा थाहा हुन सकेन ।’
देउवालाई स्वदेश फर्किने वातावरण सत्तारुढ दल रास्वपाकै सभापति रवि लामिछानेलगायतले बनाउन खोजेको आरोप पनि कांग्रेसको संस्थापन पक्षका नेताहरुले लगाइरहेका छन् । आफ्नै सरकारले रेडकर्नर नोटिस जारी गर्न खोज्ने, आफैँले रातो कार्पेट बिछ्याएर देउवालाई स्वदेश फर्किने वातावरण निर्माण गर्न रास्वपाकै एकथरि नेताहरु लागिपरेको कांग्रेसका सस्थापन पक्षका नेताहरुले आरोप लगाइरहेका छन् ।
देउवालाई स्वागत गर्न विमानस्थलमा कांग्रेस नेताहरु डां शसांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतका नेताहरु विमानस्थलमै पुग्नेछन् । देउवाको स्वागतमा ५ देखि ७ हजारसम्म नेता–कार्यकर्ता विमानस्थलमा उतार्ने तयारी पनि संस्थापनइतर समूहले गरेको छ ।
त्यसका लागि तरुण दलका पूर्वअध्यक्ष जीतजङ्ग बस्नेत र नेविसंघका पूर्वनेता तथा बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्लेलाई जिम्मा दिइएको छ ।












प्रतिक्रिया