काठमाडौँ । विभिन्न सीमा नाकाबाट ५२६ जना रोहिंग्या नेपाल प्रवेश गरेको पाइएको नेपाल प्रहरीले जनाएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले अनुसन्धानका क्रममा हालसम्म ५२६ जना रोहिंग्या नेपालमा रहेको तथ्य फेला परेको जानकारी दिएका हुन् । यसअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि रोहिंग्या समुदायका केही व्यक्ति नेपाल प्रवेश गरेको पाइएको बताएका थिए ।
प्रहरीका अनुसार नेपालमा रहेका रोहिंग्यामध्ये १६२ जना पुरुष, १४८ जना महिला र २१६ जना बालबालिका रहेका छन् । अनुसन्धानका क्रममा उनीहरू काठमाडौँको कपन, राममन्दिर क्षेत्र तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।
‘खुला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाले पहिचानमा समस्या भएको छ,’ उनले भने, ‘विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाइएको छ ।’
उनले सीमा क्षेत्रमा खटिएका प्रहरीलाई यस्ता व्यक्तिको अवैध प्रवेश रोक्न विशेष निगरानी र आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको जानकारी दिए ।
प्रहरीले उनीहरूको प्रवेश, बसोबासको अवस्था र अन्य सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।












प्रतिक्रिया