राजनीति-समाज

सरकार जवाफदेहिता र पारदर्शिताबाट पन्छियो : सांसद् पुन

सरकार जवाफदेहिता र पारदर्शिताबाट पन्छियो : सांसद् पुन


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमााडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुनले वर्तमान सरकार जवाफदेहिता र पारदर्शिताबाट पन्छिएको आरोप लगाएका छन् ।

शुक्रबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले मुलुकका विभिन्न भागमा विकसित घटनाक्रम र जनजीविकाका सवालमा सरकारले संसद्लाई उपेक्षा गरेको बताए । सांसद् पुनले लोकतन्त्रमा सरकार आफ्ना हरेक कार्यप्रति विधिसम्मत र जवाफदेही हुनुपर्नेमा जोड दिए ।

Advertisement

विशेषगरी, सुनसरी र मधेस प्रदेशमा हालै भएका साम्प्रदायिक तथा अन्य सुरक्षासम्बन्धी घटनाहरूबारे सरकारले संसद्लाई जानकारी नगराएकोमा उनले आपत्ति जनाए । गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै उनले सीमा क्षेत्रको भ्रमणलगत्तै भएका अशान्ति र झडपका घटनाबारे संसद्मा स्पष्टीकरण दिनुपर्ने माग गरे ।

गृहमन्त्रीको भ्रमण र त्यसपछि उत्पन्न परिस्थितिले जनमानसमा शङ्का उब्जाएको टिप्पणी गर्दै उनले यस्ता गम्भीर विषयमा सरकार मौन बस्नु लोकतन्त्रको स्वास्थ्यका लागि हितकर नभएको उल्लेख गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने वा मिडियामा बोल्ने कुरा आफ्नो ठाउँमा होला, तर सार्वभौम जनताको प्रतिनिधि संस्था संसदमा उभिएर आधिकारिक धारणा राख्न उहाँ चुक्नुभएको छ । सांसदहरूसँगको संवाद भनेको प्रत्यक्षरूपमा जनतासँगको संवाद हो । यसरी जवाफदेहिताबाट भागेर सरकार कतै पुग्न सक्दैन ।’

सांसद् पुनले प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्ता संसदमा गर्ने भनिएको प्रश्नोत्तर कार्यक्रमसमेत नगरेको र आगामी कार्यसूचीमा समेत नपरेको भन्दै आलोचना गरे ।

मुलुकको आर्थिक र प्रशासनिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले बढ्दो महङ्गी, रासायनिक मलको अभाव, खाना पकाउने ग्यासको समस्या र अनियमित विद्युत कटौतीले जनताको जीवन कष्टकर बनेको बताए । नयाँ राजनीतिक शक्तिहरू सरकारमा सहभागी भए पनि न्युनतम सेवा प्रवाहमा कुनै सुधार नदेखिएको उनको भनाइ थियो ।