काठमाडौँ । नेपाल शिक्षक महासंघले विगतमा सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको साउन १६ र १७ गते बसेको परिषद् बैठकले माग सम्बोधन नभए भदौ महिनादेखि आन्दोलन सुरू गर्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले विगतमा गरेको सहमति कार्यान्वयनमा बेवास्ता गरे विगतका आन्दोलनभन्दा अझ ठूलो सहभागितासहित सडक सङ्घर्षमा जाने बताए । शिक्षा नियमावलीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष सुवेदीले शिक्षकका माग सम्बोधनका लागि थप छलफल गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए ।
शिक्षक महासंघले यसअघि २०८१ चैत २० गतेदेखि काठमाडौँकेन्द्रित आन्दोलन गरेको थियो । उक्त आन्दोलन २९ दिनसम्म चलेपछि २०८२ वैशाख १७ गते सरकारले महासंघसँग नौ बुँदे सहमति गरेको थियो ।
तर, सहमति भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि शिक्षा ऐन जारी नभएको र सहमतिका बुँदा कार्यान्वयन नभएको भन्दै महासंघले पुनः आन्दोलनको तयारी थालेको जनाएको छ । महासंघले अबका कार्यक्रमबारे थप निर्णय गरेर सार्वजनिक गर्ने जनाएको छ ।












प्रतिक्रिया