काठमाडौँ । नेपाली कांग्रेसले आगामी साउन २४ गते आइतबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट देखिएका बेला यो बैठक बोलाइएको हो ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बैठक साउन २४ गते दिउँसो १ः०० बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।
इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला बोलाएको छ । भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई संयोजक तोकेको छ ।
संस्थापनले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुने मिति घोषणा गरेको छ । बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने समय सीमा, विधानमा बाधा अड्काउ फुकाउने वा विधानकै अक्षरशः पालना गर्ने भन्ने विवादको समाधान र पार्टीको आन्तरिक संरचनामा नेताहरूको व्यवस्थापनका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।












प्रतिक्रिया