काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जालगायत दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति उनले हार्दिक समवेदना व्यक्त गरेका छन् ।
शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले आरोहीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने बताएका छन् । ‘निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ’, उनले भनेका छन् ।
विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा पुर्जासहित ६ नेपाली तथा अरू चार विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन् । ‘…हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन्’, उनले भनेका छन् ।
आरोहण केवल शिखर चुम्ने यात्रा नभई यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको प्रधानमन्त्रीले बताएका छन् । ‘हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ’, उनले लेखेका छन् ।













प्रतिक्रिया