राजनीति-समाज

सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता

सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि प्रभावित क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको समन्वित पहलपछि शान्ति तथा सद्भाव पुनःस्थापित गर्ने प्रयास तीव्र पारिएको हो।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको छ। प्रभावित स्थानीय तहमा सर्वपक्षीय सद्भाव बैठकहरू आयोजना गरी शान्ति र सामाजिक एकता कायम गर्न सबै पक्ष प्रतिबद्ध भएका छन्।

Advertisement

उनका अनुसार हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले बुधबार सर्वपक्षीय बैठक आयोजना गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न संयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्। प्रशासनले प्रभावित स्थानीय तहका जनप्रतिनिधि तथा विवादमा संलग्न दुवै पक्षसँग पनि संवादलाई निरन्तरता दिएको जनाएको छ।

देवानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु तथा नौ जना घाइते भएपछि जिल्ला प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो।

घटनापछि प्रधानमन्त्री बालेन्द्र शाहले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई न्याय, उचित क्षतिपूर्ति तथा दोषीमाथि कानुनी कारबाही हुने प्रतिबद्धता जनाइसकेका छन्। सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु गम्भीर विषय भएको उल्लेख गर्दै उनले घटनाको अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेका छन्।

गृह मन्त्रालयले पनि सुनसरी घटनापछि अन्य जिल्लामा सम्भावित तनाव हुन नदिन सुरक्षा अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। मन्त्रालयले विशेषगरी बाँके, कपिलवस्तु तथा मधेश प्रदेशका जिल्लासँग समन्वय गर्दै सामाजिक सद्भाव कायम राख्ने प्रयास भइरहेको जानकारी दिएको छ।

यसैबीच, बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि नौ राजनीतिक दलले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन र उत्तेजनाबाट टाढा रहन सबैलाई आग्रह गरेका छन्।

संयुक्त अपिलमा लोकतान्त्रिक समाजमा कुनै पनि समस्या शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै समाधान हुने उल्लेख गर्दै आफ्ना माग र असन्तुष्टि संयमित तथा शान्तिपूर्ण ढंगले राख्न सबै पक्षलाई आह्वान गरिएको छ। साथै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी नागरिकस्तरसम्म विश्वासको वातावरण निर्माण गर्ने सहमति पनि भएको छ।