बिश्व घटना

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य कारबाही गर्ने चेतावनी दिइरहेका बेला संयुक्त राज्य अमेरिकाले बुधबार हर्मुज जलघाँटी क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण सुरु गरेको छ । यससँगै करिब एक महिनाअघि भएको अमेरिका–इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आक्रमण १९ः०० जीएमटीदेखि सुरु गरिएको हो । हर्मुज जलघाँटी हुँदै स्वतन्त्र रूपमा आवतजावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कारबाही केन्द्रित गरिएको जनाएको छ ।

Advertisement

अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दाबी गरेको छ । कुराकाओको झण्डा बोकेको ‘एम-टी बेल्मा’ नामक उक्त जहाजलाई निष्क्रिय पारिएकाले अब इरानतर्फ अघि बढ्न नसक्ने अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, रास्क, चाबहार, केशम, बन्दर इमाम खोमेनी तथा बुसेहरलगायत दक्षिणी क्षेत्रहरूमा विस्फोट भएको जनाएका छन् । बुसेहरमा रहेको इरानको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र आसपास पनि अमेरिकी आक्रमण भएको दाबी गरिएको छ ।

मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएको झन्डै एक महिनामै दुवै पक्ष पुनः सैन्य भिडन्तमा उत्रिएका हुन् । इरानको रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक फ्लीटलाई लक्षित गरेको जनाएको छ । त्यसपछि बहराइनमा हवाई साइरन बजाइएको थियो ।

जोर्डनले इरानबाट प्रहार गरिएका तीनवटा मिसाइल खसालेको जनाएको छ भने इराकको एरबिल क्षेत्रमा अमेरिकी नेतृत्वको गठबन्धनले विस्फोटक पदार्थ बोकेका आठवटा ड्रोन खसालेको कुर्दिस सुरक्षा बलले जनाएको छ । घटनामा मानवीय क्षतिको पुष्टि भएको छैन । एएफपी