बिश्व घटना

इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

तेहरान । इरानले बुधबार देशको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको बुशेहर बन्दरगाह सहरलाई लक्षित गर्दै अमेरिकाले नयाँ आक्रमण गरेको जनाएको छ । यससँगै अमेरिका र इरानबीच पुनः सुरु भएको सैन्य द्वन्द्व थप चर्किएको छ ।

फेब्रुअरीमा सुरू भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गत महिना अमेरिका र इरानबीच भएको ‘इस्लामाबाद समझदारीपत्र’पछि केही समय शान्ति कायम भएको थियो । तर, पछिल्ला दिनमा दुवै पक्षले पुनः एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण थालेका छन् ।

Advertisement

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी)ले बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । बहराइनले भने आफ्ना सुरक्षाबलले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनहरू निस्तेज पारेको जनाएको छ । यसैबीच, जोर्डनले पनि इरानबाट प्रहार गरिएका तीन वटा क्षेप्यास्त्र खसालेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान वार्ताको टेबलमा नफर्किए आगामी सातादेखि इरानका ऊर्जा पूर्वाधार, विद्युत् केन्द्र र पुलहरूमा थप आक्रमण गर्ने चेतावनी दिएका छन् । ‘अर्को साता उनीहरूका लागि अझ कठिन हुनेछ’, ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भने ।

यद्यपि दुवै पक्षबीचको मध्यस्थतामार्फत जारी कूटनीतिक प्रयास औपचारिक रूपमा भने समाप्त भएको छैन ।

होर्मुज जलसन्धि विवाद पुनः केन्द्रमा

द्वन्द्वको प्रमुख केन्द्र फेरि होर्मुज जलसन्धि बनेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले जलसन्धिमा नियन्त्रण कडा बनाउँदै पटक–पटक बन्द गर्ने घोषणा गरेको थियो ।

अमेरिकाले त्यसको जवाफस्वरूप इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी पुनः लागू गरेको छ । यद्यपि ट्रम्पले होर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि प्रस्तावित २० प्रतिशत शुल्क लगाउने योजना भने फिर्ता लिएका छन् ।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकी नाकाबन्दीले ‘इस्लामाबाद समझदारीपत्र’को उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

बुशेहरसहित दक्षिणी क्षेत्रमा विस्फोट

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले व्यावसायिक जहाज र समुद्री सुरक्षामा इरानको खतरा कम गर्न होर्मुज जलसन्धि र तटीय क्षेत्रमा दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केश्म टापु, बन्दर इमाम खोमेनी र बुशेहर क्षेत्रमा विस्फोट भएका छन् । बुशेहरमा इरानको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको छ ।

समुद्री सुरक्षा र मानवीय असर

इरानले अमेरिकी आक्रमण जारी रहेसम्म होर्मुज जलसन्धि बन्द रहने दोहो¥याएको छ ।सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले गत सातामात्र इरानले सात वटा व्यावसायिक जहाजमाथि आक्रमण गरेको र त्यसबाट सर्वसाधारण चालक दलका सदस्य मारिएको, घाइते भएको वा बेपत्ता भएको आरोप लगाएका छन् ।

सङ्कट व्यवस्थापन कम्पनी एमटीआई नेटवर्कका अनुसार मङ्गलबार ओमानको तट नजिकै अज्ञात विस्फोटबाट एक नर्वेली तेल ट्याङ्करमा क्षति पुगेको छ ।

कुवेतले पनि इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणका क्रममा आफ्ना नौसैनिक जहाजमध्ये एउटामा क्षति पुग्दा चालक दलका चार सदस्य घाइते भएको जनाएको छ ।

हताहती र क्षेत्रीय चेतावनी

इरानी सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीका अनुसार, गत सातायता अमेरिकी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी क्षेत्रमा भएको छुट्टै आक्रमणमा सात सैनिक मारिएको इरानी सेनाले जनाएको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले इजरायलमाथि आक्रमण गरे त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् । उनले इरानी नेतृत्वलाई सम्बोधन गर्दै भने, ‘यदि तिमीहरूले हामीमाथि आक्रमण गर्यौ भने अवस्था शान्त रहन्छ भन्ने नसोच ।’ एएफपी