बिश्व घटना

ट्रम्पको चेतावनीपछि इरानद्वारा युद्धविराम पालना गरेको दाबी

ट्रम्पको चेतावनीपछि इरानद्वारा युद्धविराम पालना गरेको दाबी


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

तेहरान । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको दाबी गरेपछि इरानले आफूले युद्धविरामसम्बन्धी समझदारीको पूर्ण पालना गरेको जनाएको छ ।

शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले वार्ता जारी राख्न आग्रह गरेको दाबी गर्दै अमेरिका वार्ताका लागि तयार भए पनि युद्धविराम भने समाप्त भइसकेको उल्लेख गरेका थिए । यसअघि नेटो शिखर सम्मेलनमा पनि उहाँले युद्धविराम अन्त्य भएको दाबी गर्दै इरानसँग व्यवहार गर्नु समयको बर्बादी भएको टिप्पणी गरेका थिए ।

Advertisement

ट्रम्पले इरानले आफूविरुद्ध आक्रमण वा हत्या प्रयास गरेमा इरानलाई ‘पूर्ण रूपमा ध्वस्त पारिने’ चेतावनीसमेत दिएका छन् ।

यसको जवाफमा इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरानले अहिलेसम्म समझदारीअनुसार आफ्नो दायित्व पूरा गरेको, तर अमेरिकाले सम्झौताका प्रावधान उल्लङ्घन गरिरहेको आरोप लगाएका छन् ।

अराघचीका अनुसार समझदारीपत्रमा इरानले आफ्नो आणविक कार्यक्रमको विद्यमान अवस्था कायम राख्ने तथा अमेरिकाले अन्तिम सम्झौता नहुँदासम्म नयाँ प्रतिबन्ध नलगाउने र थप सैन्य तैनाथी नगर्ने व्यवस्था गरिएको छ । उहाँले अमेरिकाले गरेका पछिल्ला कदमहरू सम्झौताको उल्लङ्घन भएको दाबी गरे ।

समझदारीपछि अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष तथा कतारमा अप्रत्यक्ष वार्ता भए पनि त्यसयता कूटनीतिक प्रगतिका कुनै स्पष्ट सङ्केत देखिएका छैनन् ।

यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूले वासिङ्टनले इरानलाई होर्मुज जलसन्धिमा व्यावसायिक जहाजमाथिका आक्रमण रोक्न र जलमार्ग खुला राख्न शनिबारसम्मको समयसीमा दिएको जनाएका छन् ।

विश्वको ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलसन्धि हाल अमेरिका–इरान तनावको प्रमुख केन्द्र बनेको छ । इरानले उक्त जलमार्ग आफ्नो नियन्त्रणमा हुनुपर्ने अडान राख्दै त्यहाँबाट आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने इच्छा पनि व्यक्त गरेको छ ।

हालै जलसन्धिमा भएका आक्रमणपछि अमेरिकाले इरानमाथि व्यापक सैन्य कारबाही गरेको थियो भने त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण गरेको थियो ।

यसैक्रममा अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल निर्यातमा दिइएको अस्थायी छूटसमेत खारेज गरेको छ । इरानी सरकारी समाचार संस्था इरनाका अनुसार विदेशमन्त्री अराघची होर्मुजसम्बन्धी विषयमा छलफल गर्न शनिबार ओमान जाने कार्यक्रम छ ।

कतारले पनि कूटनीतिक प्रयासलाई निरन्तरता दिएको जनाएको छ । इरानी सञ्चारमाध्यमका अनुसार कतारी प्रतिनिधिमण्डल तेहरानमा रहँदै तनाव कम गर्न मध्यस्थतामा सक्रिय छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि कतारका अमिर तथा इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरी क्षेत्रीय शान्ति कायम राख्न आग्रह गरेका छन् । यद्यपि, इरानका वरिष्ठ अधिकारीहरूले आफ्नो देश कुनै पनि दबाबमा नझुक्ने र आवश्यक परे राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । एएफपी