काठमाडौँ । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित गर्न देशभरका प्रमुख राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ निर्माण गर्ने भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सडक सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
उनले सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि खोला–खोल्सी र जोखिमयुक्त स्थानमा पुल निर्माणलाई तीव्रता दिइने जानकारी दिँदै देशभर तीन हजार पुल निर्माण गर्ने लक्ष्य राखिएको बताए ।
कर्णाली राजमार्गको दयनीय अवस्था, सडक दुर्घटना तथा उद्धारमा हुने ढिलाइबारे सांसद दुर्गाकुमारी गुरुङले उठाएको प्रश्नको जवाफमा मन्त्री लम्सालले कर्णालीका सडकको अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गरे । उनले कर्णाली राजमार्ग सुधारका लागि पर्याप्त बजेट विनियोजन गरिएको र आगामी दिनमा एक लेनका सडकलाई क्रमशः दुई लेनमा स्तरोन्नति गरिने बताए ।
“यस्तो अवस्था दोहोरिन नदिन एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यक्रम ल्याएका छौँ । चालु आर्थिक वर्षभित्र सबै एक लेन सडक विस्तारका लागि ठेक्का प्रक्रिया सुरु गर्ने लक्ष्य छ”, मन्त्री लम्सालले भने ।












प्रतिक्रिया