नेपाल

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

लमजुङ । डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा स्तरोन्नति हुन नसक्दा यात्रु र सवारी चालक कष्टपूर्ण तथा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

विसं २०२९ मा निर्माण सुरु भएको यो सडक विसं २०४६ मा सञ्चालनमा आएको थियो भने विसं २०५२ मा कालोपत्रको काम सुरु गरिएको थियो। तर हालसम्म सडकको स्तरोन्नति सम्पन्न हुन नसक्दा वर्षायाममा हिलो र घाम लाग्दा धुलोका कारण यात्रा अत्यन्तै कठिन हुने गरेको स्थानीयको गुनासो छ।

Advertisement

लमजुङ र तनहुँ जोड्ने यस सडकलाई दुई लेनमा विस्तार गर्न स्थानीयले पटकपटक माग गरे पनि कामले गति लिन सकेको छैन। निर्माण कम्पनीले वर्षायाममै सडकमा निर्माण सामग्री जथाभावी थुपारेकाले यात्रु र सवारीसाधन आवतजावतमा थप समस्या उत्पन्न भएको छ।

यात्रु सरिता गुरुङका अनुसार पानी पर्दा सडक हिलोले भरिन्छ भने घाम लाग्दा धुलोका कारण अगाडि देख्नै गाह्रो हुने अवस्था छ। सवारी चालक नारायण घिमिरेले पनि वर्षायाममा यस सडकमा यात्रा गर्नु निकै जोखिमपूर्ण हुने बताए।

पछिल्लो समय जनदबाबपछि डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजागरसम्मको करिब ८.९ किलोमिटर सडक दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ ।

डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार पिके निर्माण सेवा काठमाडौंसँग विसं २०८२ जेठभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिए पनि हालसम्म काम पूरा हुन सकेको छैन । आयोजनाको लागत करिब रु ७२ करोड रहेको छ, जसका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको थियो ।

डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका जिल्लालाई जोड्ने प्रमुख मार्ग हो। यही सडक हुँदै अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत बेँसीसहर भएर यात्रा गर्ने भएकाले यसको स्तरोन्नति स्थानीयवासीसँगै पर्यटन क्षेत्रका लागि पनि महत्त्वपूर्ण मानिएको छ ।