काठमाडौं । सीमा सुरक्षा र नाका व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मुख्य सीमा नाकाहरूमा ‘बोर्डर इन्ट्रयाक्सन टिम (बिआइटी)’ गठन गर्ने तयारी गरिएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा संगठनले आफ्नो कार्यादेशअनुसार प्रभावकारी रूपमा काम गरिरहेको बताएका छन्।
उनका अनुसार मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्य योजना बनाइ सरोकारवाला निकायहरूसँग समन्वयमा काम सुरु भइसकेको छ। उनले सीमा क्षेत्रमा जनशक्ति, प्रविधि र परिचालन सम्बन्धी चुनौती भए पनि परिणाममुखी कार्यमा संगठन प्रतिबद्ध रहेको स्पष्ट पारे।
महानिरीक्षक पौडेलले सरकारको प्राथमिकतामा रहेको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी पूर्ण रूपमा परिचालित रहेको बताए। साथै, संगठनलाई थप सुदृढ बनाउन कानुनी तथा नीतिगत स्पष्टताका लागि नयाँ कानुन निर्माण प्रक्रिया अघि बढिरहेको पनि उनले उल्लेख गरे।
संगठनभित्र आर्थिक सुशासन कायम गर्न शून्य सहनशीलताको नीति अपनाइएको र आन्तरिक गुनासाहरूलाई समयमै सम्बोधन गरिने उनको भनाइ थियो।
त्यसैगरी, संगठनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन हालै ‘नीति, अनुसन्धान तथा योजना निर्देशनालय’ गठन गरिएको जानकारी दिँदै उनले यसले भविष्यका योजना र विकासमा सहयोग पुर्याउने बताए।
सीमा नाकामा गठन गर्न लागिएको ‘बोर्डर इन्ट्रयाक्सन टिम’ पायलट प्रोजेक्टका रूपमा केही प्रमुख नाकाबाट सुरु गरिने छ। यो संयन्त्रले सीमापार आवतजावत सहज बनाउने, छिमेकी सुरक्षा निकायसँग समन्वय बढाउने र अवैध गतिविधि नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।












प्रतिक्रिया