राजनीति-समाज

गृहमन्त्री बनेकै दिन सुधन गुरूङविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

गृहमन्त्री बनेकै दिन सुधन गुरूङविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी


शेयर गर्नुहोस:

1.9k
Shares

  • change font
  • change font

काठमाडौँ । गृहमन्त्रीको शपथ लिएर पदभार सम्हालेकै दिन गृहमन्त्री सुधन गुरूङविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लिखित उजुरी दर्ता भएको छ ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ निवासी केशव रावलले विभागमा दर्ता गराएको उजुरीमा गुरुङको सम्पत्ति विवरणमा असंगति रहेको दाबी गर्दै विस्तृत छानबिनको माग गरेका छन् ।

Advertisement

उजुरीमा गुरुङको नाममा रहेको भनिएको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा करिब ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर सम्पत्ति विवरणमा नदेखाइएको उल्लेख गरिएको छ। साथै ती कम्पनीहरूसँग सम्बन्धित लगानीको स्रोत र व्यावसायिक सम्बन्धबारे अनुसन्धान गर्न माग गरिएको छ ।

त्यसैगरी गुरुङका नाममा रहेको भनिएको ८९ तोला सुन, विभिन्न बैंक खातामा रहेको ६२ लाख रुपैयाँभन्दा बढी नगद, विभिन्न कम्पनीमा गरिएको लगानी तथा ४८ लाख रुपैयाँ मूल्यको सवारीसाधन खरिदको स्रोतबारे पनि छानबिन गर्नुपर्ने माग उजुरीमा गरिएको छ ।

उजुरीकर्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका विवरणमा लगानी ऋण लिएर गरिएको दाबी भए पनि सम्पत्ति विवरणमा ऋणको उल्लेख नभएको जिकिर गरेका छन् । साथै, अवैध सम्पत्तिलाई वैध देखाउने प्रयास हुन सक्ने आशंका समेत व्यक्त गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लेख गर्दै उजुरीकर्ताले सम्पत्तिको स्रोत, आर्थिक कारोबार तथा सार्वजनिक नगरिएको भनिएको सम्पत्तिबारे विस्तृत अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

यता, गृहमन्त्री गुरुङले बुधबार मात्रै पद तथा गोपनीयताको शपथ लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हालेको पहिलो दिनमै उनीविरुद्ध सम्पत्ति छानबिनको मागसहित उजुरी परेपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा यस विषयले चर्चा पाएको छ ।