बिजनेस/ इकोनोमी

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राखेको छ। समस्याग्रस्त सहकारीमा स–साना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्त्व दिइएको हो।

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले समस्याग्रस्त सहकारीमा १० हजार रुपैयाँभन्दा कम भएका बचतकर्तालाई रकम फिर्ता गर्न सुरू गरिएको बताउँदै यस कार्यलाई निरन्तरता दिइने र क्रमिक रूपमा ठूला बचतकर्ताको निक्षेप पनि फिर्ता गरिने जानकारी दिए।

Advertisement

निक्षेपकर्ताको बचत फिर्ताका लागि समस्याग्रस्त सहकारीहरूको ऋण असुली गर्ने कामसमेत भइरहेको जनाइएको छ। करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ समस्यामा छ। सहकारी पीडितको रकम फिर्ता गर्ने उद्देश्यले चक्रीय कोष सञ्चालनको कार्यविधि तयार पारेको मन्त्रालयले स्रोत व्यवस्थापन लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको छ।

त्यसैगरी, मन्त्रालयले सोमबारदेखि सहकारी व्यवस्थापन समितिमार्फत ३७८ जना सहकारी सदस्यका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताको निक्षेप फिर्ता गरेको हो। बैंक भेरीफाइ भएका बचतकर्ताको रकम फर्काइएको मन्त्रालयले जनाएको छ।