बिजनेस/ इकोनोमी

राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो

राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । सरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ ।

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा रु पाँच खर्ब चार अर्ब ५५ करोडबराबर लगानी भएको छ । त्यसमध्ये हालसम्म तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न भएका छन् । कुल २७ वटा राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीअनुसारको प्रतिफल हासिल हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान रु २४ खर्ब १५ अर्ब छ करोड ९७ लाख र ६९ दशमलव सात करोड अमेरिकी डलर रहेको छ । गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमात्रै सम्पन्न भएका छन् ।

समष्टिगत रूपमा भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा माथि हासिल गर्ने पाँचवटा आयोजना छन् । यस्तै, ५० देखि ८० प्रतिशत हासिल गर्ने चारवटा छन् । पचास प्रतिशतभन्दा न्यून प्रगति भएका आयोजनाको सङ्ख्या नौ, भौतिक प्रगति नखुलेका चार र सुरू नै नभएका दुई आयोजना छन् ।

आव २०७८–७९ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगतिसमेत नखुलेको प्रतिवेदनमा उल्लेख छ । अधिकांश आयोजना कार्यक्षेत्र थप गर्दै जाने तथा निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा नसकिएका कारण लगानीअनुसारको प्रतिफल हासिल हुनसकेको छैन । तोकिएको अवधिमा सम्पन्न हुनेगरी आयोजनाको व्यवस्थापन हुनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।

यस्तै, आयोजनाको बारम्बार म्याद थपिने प्रवृत्ति देखिएको छ । सोही कारणले लागत वृद्धि हुनुका साथै आयोजनाको प्रभावकारितामा समेत प्रश्न उठेको छ ।