नेपाल

चोरले अमेरिका पुर्‍याएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

चोरले अमेरिका पुर्‍याएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार)बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्त्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित टिवेटहाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूको सहकार्यमा मूर्ति फिर्ता ल्याएर काठमाडौं महानगरलाई समर्पित गरेपछि सो मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा राखेर संरक्षण गरिएको थियो ।

Advertisement

सङ्ग्रहालयमा राखिएको मूर्तिलाई मूल स्थानमा ल्याउन वैशाख १७ गते कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोल वडा नं २३ का अध्यक्ष एवं कामपा विधायन समितिका संयोजक मचाराजा महर्जनसहित सरोकारवाला कार्यालयका अधिकारीसहित सङ्ग्रहालय पुगेका थिए । यस क्रममा पुरातत्व विभागका प्रतिनिधि, न्हुछे बहाका गुठीयार अमर शाक्य, सम्पदा अभियानकर्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता तथा सम्पदा अभियन्ता सञ्जय अधिकारी सहभागी रहेका थिए।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० (क) बमोजिम मूर्तिको सुरक्षा तथा संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित गुठियारलाई दिने कागजी प्रक्रिया पूरा गरी राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले बुद्ध मूर्ति हस्तान्तरण गरेका थिए। मूर्तिलाई त्यस दिन हनुमानढोका हेरचाह अड्डामै राखिएको थियो । यसरी राखिएको मूर्ति यही वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुनःस्थापित गरिएको हो ।

सो अवसरमा वडा २३ का अध्यक्ष महर्जनले मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिका लागि ठूलो योगदान पुगेको उल्लेख गरे। राष्ट्रिय सङ्ग्रहालयका प्रमुख नकर्मीले, सम्पदा संरक्षणमा स्थानीय सरकार समुदायका बीच समन्वय उत्कृष्टताको नमूना भएको उल्लेख गरे। सम्पदा संरक्षणकर्मी गणपतिलाल र अभियन्ता सञ्जयले विदेशमा बेचिएका प्राचीन कला फिर्ता ल्याउने काममा थप उत्साह बढेको बताए ।

चोरिएका मूर्ति तथा कलात्मक वस्तुलाई मूल स्थानमा पुनःस्थापना गरेको यो तेस्रो सम्पत्ति हो । कामपाले यसअघि पनि कुमारीघरको तोरण र गःगुठी सूर्यमुखी महादेव मन्दिर परिसरमा रहेको महागौरीरपार्वतीको मूर्ति पनि मूल आसनमा फर्काइसकेको छ ।