तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानलाई मध्यपूर्व युद्ध अन्त्य गर्ने उद्देश्यले वार्तामा संलग्न हुन आग्रह गरेका छन् ।
इजरायलले इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डरलाई मारेको भन्दै युद्धको सुरुवातदेखि नै ‘स्ट्रेट अफ हर्मुज’को जलमार्ग अवरूद्ध गरिएको थियो । यो परिस्थितिका लागि अमेरिका र इजरायल ’प्रत्यक्ष जिम्मेवार’ रहेको इरानले बताएको छ भने हर्मुज जलमार्गको अवरूद्धताले विश्वव्यापीरूपमा आर्थिक प्रभाव पार्ने भएपछि राष्ट्रपति ट्रम्पले वार्तामा संलग्न हुन इरानलाई सुझाव दिएका हुन् ।
हर्मुज क्षेत्रको अधिकांश भाग रहेको इरानसँग अमेरिकाले शान्ति योजना प्रस्ताव गरेको बताइएको छ तर इरानले यसका लागि सहमत नभएको बताइरहेको छ ।
पाकिस्तानका शीर्ष कूटनीतिज्ञले बिहीबार वार्ताको पुष्टि गर्दै इस्लामाबादले ‘अमेरिका–इरान अप्रत्यक्ष वार्ता’ को मध्यस्थता गरिरहेको र तेहरानले १५ बुँदे अमेरिकी योजनालाई ‘छलफल’ गरिरहेको बताएका छन् । उनले भने, “धेरै ढिलो नगरिकन उनीहरू चाँडै गम्भीर हुनु राम्रो हुन्छ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा इरानको ‘सैन्य संरचना नष्ट गरिएको र फेरि यो अवस्थामा फर्कने कुनै सम्भावना नभएको’ चेतावनी दिएका छन् ।
इरानका उच्च कूटनीतिज्ञले बुधबार ट्रम्प प्रशासनसँग ‘वार्ता’ भएको कुरा ठाडै अस्वीकार गरे पनि ‘मित्र देशहरू’मार्फत सन्देशहरू आदानप्रदान भइरहेको स्वीकार गरे । “अहिले हाम्रो नीति नै प्रतिरोधको निरन्तरता हो,” विदेशमन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनसँग कुरा गर्दै भनेका छन् ।
इस्लामाबादलाई छिमेकी इरान र संयुक्त राज्य अमेरिका दुवैसँग लामो समयदेखिको सम्बन्ध र क्षेत्रीय सम्पर्कको नेटवर्कका कारण मध्यस्थकर्ताको रूपमा हेरिएको छ ।
पाकिस्तानका विदेशमन्त्री इशाक दारले ‘भाइचारा राष्ट्रहरू’ टर्की, इजिप्ट र अन्य देशहरूले पनि यस प्रक्रियालाई सहयोग गरिरहेको बताएका छन् । एएफपी












प्रतिक्रिया