हेटौंडा। गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम अनुसार मकवानपुर जिल्ला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को किल्ला बन्न पुगेको छ। रास्वपाले मकवानपुरको दुबै निर्वाचन क्षेत्रमा जित हातपार्नुका साथै समानुपातिकतर्फको मतमा पनि पहिलो भएर मकवानपुर जिल्लालाई आफ्नो किल्ला बनाउन सफल भएको हो।
निर्वाचन परिणाम अनुसार मकवानपुर क्षेत्र नंबर १ बाट रास्वपाका उमेदवार प्रकाश गौतम निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार गौतमले ३६ हजार ३३ मत प्राप्त गरी जित हासिल गर्न सफल भएका छन्। उनले १४ हजार ३८ मत प्राप्त गरेकी नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) लाई पछि पार्दै जित हासिल गरेका हुन्।
यसैगरी, नेकपा एमालेका उम्मेदवार रामेश्वर राना मगर १२ हजार ७ सय ८३ मत प्राप्त गरी तेस्रो भए भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजय गौतम १० हजार ७८८ मत ल्याएर चौथो र उज्यालो नेपाल पार्टीका उम्मेदवार सुरेन्द्र लामा १० हजार २०५ मत ल्याएर पाँचौ भए।
कूल १ मा १ लाख ५८ हजार ४ सय ३५ मतदाता रहेको मकवानपुर क्षेत्र नंबर १ मा फागुन २१ गते भएको निर्वाचनमा ९५ हजार ८ सय ४३ मत खसेको थियो । जसमध्ये ९० हजार ७२५ मत सदर भएको थियो भने ५ हजार ११८ मत बदर भएको थियो।
यसैगरी, मकवानपुर क्षेत्र नम्बर २ बाट पनि प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेतीले जित हासिल गरेका छन् । उनले यस अघि २०७९ को प्रतिधि सभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट जित हासिल गरेका नेकपा एमालेका महेश्वरकुमार बर्तौलालाई पछि पार्दै जित हासिल गरेका हुन्। उप्रेतिले ३० हजार ५० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी बर्तौलाले १८ हजार ८४६ मत, नेपाली काँग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ मत, नेकपाका उम्मेदवार लवशेर विष्टले १२ हजार ४ सय ९२ मत, उज्यालो नेपाल पार्टीका उम्मेद्वार प्रविन कुमार स्याङ्तानले ६ हजार २३७ मत प्राप्त गरेका छन् ।
कूल १ लाख ५६ हजार ८९९ मतदाता रहेको मकवानपुर जिल्लाको क्षेत्र नंबर २ मा कूल ९१ हजार ११६ मत खसेको थियो । जसमा ८५ हजार ६ सय १९ मत सदर भएको थियो भने ५ हजार ४९७ मत बदर भएको थियो ।
यसैगरी, रास्वपाले मकवानपुर जिल्लाबाट समानुपातिकतर्फ ७३ हजार ७२२ मत पाएर पहिलो पार्टी बनेको छ भने, नेकपा एमालेले २७ हजार ७०० मत पाएर दोश्रो, नेपाली काँग्रेसले २३ हजार ६३८ मत पाएर तेस्रो भएको छ ।
मकवानपुर क्षेत्र नम्बर १ मा रास्वपाले ३९ हजार ८३४ मत प्राप्त गरेर पहिलो, नेकपा (एमाले) ले ११ हजार २२७ मत प्राप्त गरेर दोस्रो, नेपाली काँग्रेसले १० हजार ७७६ मत प्राप्त गरेर तेस्रो, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ हजार ४६७ मत प्राप्त गरेर चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४ हजार ७३ मत पाएर पाँचौ भएको छ।
यसैगरी , मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाले ३३ हजार ८५८ मत प्राप्त गरी पहिलो पार्टी बनेको छ। नेकपा (एमाले) १६ हजार ४७३ मत प्राप्त गरेर दोस्रो र नेपाली काँग्रेस १२ हजार ८६२ मत प्राप्त गरेर तेस्रो भएको छ । क्षेत्र नम्बर २ मा राष्ट्रिय परिवर्तन पार्टीले ९ हजार ६७९ मत, नेकपाले ९ हजार ४३१ मत, राप्रपाले १ हजार ५०४ मत र श्रम संस्कृति पार्टीले १ हजार ४६७ मत प्राप्त गरेका छन्।












प्रतिक्रिया