किएभ । रुसले युक्रेनमाथि सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्दै रातभर व्यापक आक्रमण गरेको छ । यस आक्रमणमा राजधानी किएभमा कम्तीमा चार जनाको ज्यान गएको र २५ भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
करिब चार वर्षदेखि जारी युद्धमा दोस्रोपटक मात्र रुसले शक्तिशाली नयाँ हाइपरसोनिक ब्यालेस्टिक मिसाइल ‘ओरेसनिक’ प्रयोग गरेको हो, जसलाई पश्चिमी युक्रेन हुँदै किएभका नाटो सहयोगीहरूतर्फ स्पष्ट चेतावनीका रूपमा हेरिएको छ ।
यो आक्रमण युक्रेन र उसका सहयोगीहरूले अमेरिकी नेतृत्वमा सम्भावित शान्ति सम्झौतापछि देशको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल गरिरहेका बेला भएको हो । युरोपेली नेताहरूले यसलाई ‘बढ्दो र अस्वीकार्य’ भन्दै कडा निन्दा गरेका छन् । युरोपेली संघ (इयु) का शीर्ष विदेश नीति प्रतिनिधि काजा कल्लासले कूटनीतिमा रुसको जवाफ ‘थप मिसाइल र विनाश’ भएको टिप्पणी गरेका छन् ।
किएभमा भएको आक्रमणका कारण हिउँ परेको चिसो मौसममा करिब छ हजार अपार्टमेन्ट भवनहरू तापविहीन बनेका छन् । तापक्रम माइनस आठ डिग्री सेल्सियससम्म झरेको बेला पानी आपूर्तिसमेत अवरुद्ध भएको छ ।
किएभ सहर सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आपतकालीन सेवामा संलग्न एक स्वास्थ्यकर्मीको ज्यान गएको छ भने चार स्वास्थ्यकर्मी र एक प्रहरी अधिकारी घाइते भएका छन् । नगरपालिकाले पोर्टेबल बायलर प्रयोग गरी अस्पताल, प्रसूति वार्ड लगायत अत्यावश्यक सेवामा ताप र बिजुली पुनस्र्थापना गरेको जनाएको छ ।
आक्रमणका क्रममा किएभस्थित कतारी दूतावासमा पनि क्षति पुगेको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जानकारी दिएका छन् । कतारले युद्धबन्दी आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनले विशेषगरी अमेरिकाबाट ‘स्पष्ट र कडा प्रतिक्रिया’ आवश्यक रहेको बताएका छन् ।
युक्रेनको सुरक्षा सेवाले पश्चिमी सहर लिभिभ क्षेत्रमा ओरेसनिक मिसाइलका भग्नावशेष फेला पारेको जनाएको छ । यो मिसाइल रुसको कपुस्टिन यार परीक्षण केन्द्रबाट प्रक्षेपण गरिएको र नागरिक पूर्वाधार लक्षित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय बासिन्दाहरूले ठूलो विस्फोट सुनेको तर लामो समयदेखि युद्धको अवस्थासँग अभ्यस्त भइसकेकाले मनोबल नटुटेको प्रतिक्रिया दिएका छन् ।
रुसको रक्षा मन्त्रालयले भने यो आक्रमण गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनको एक निवासमाथि युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिशोध भएको जनाएको छ । युक्रेन र अमेरिकाले भने सो दाबी अस्वीकार गरेका छन् । रुसी सञ्चारमाध्यमका अनुसार लिभिभ क्षेत्रमा रहेको भूमिगत ग्यास भण्डारण केन्द्र लक्ष्य हुनसक्ने बताइएको छ, जहाँबाट पोल्यान्ड हुँदै पश्चिमी सैन्य सहायता युक्रेन प्रवेश गर्ने गर्छ ।
यसअघि पुटिनले ओरेसनिक मिसाइल माक १० गतिमा ‘उल्कापिण्डजस्तै’ लक्ष्यमा पुग्ने र कुनै पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न नसकिने दाबी गरेका थिए । युक्रेनी गुप्तचरका अनुसार उक्त मिसाइलमा बहुविध वारहेड जडान गरिएको छ । रुसले पहिलो पटक सन् २०२४ नोभेम्बरमा डिनिप्रो सहरमा यो मिसाइल प्रयोग गरेको थियो । विश्लेषकहरूका अनुसार यसले मनोवैज्ञानिक युद्धको नयाँ आयाम थपेको छ ।
यस घटनापछि युक्रेनी विदेशमन्त्री आन्द्रिइ सिबिहाले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् र युक्रेन–नाटो परिषद्को आपतकालीन बैठक आह्वान गरिने जानकारी दिएका छन् । उनले इयु र नाटो सीमासँग नजिकै भएको यस्तो आक्रमणले सम्पूर्ण युरोपको सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गरेको बताएका छन् ।
भ्याटिकनबाट पोप लियो चौधौँले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल युद्धविराम र संवादमार्फत शान्तिको बाटो खोज्न आग्रह गरेका छन् । बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले पनि आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई अस्वीकार्य बताएका छन् । एपी











प्रतिक्रिया