ब्रेस्ट (फ्रान्स) । विश्वका महासागरहरूले सन् २०२५ मा अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ। विज्ञहरूका अनुसार बढ्दो महासागरीय तापले समुद्री सतहको वृद्धि, शक्तिशाली आँधीबेहरी र मुगा (कोरल) नष्ट हुने जोखिमलाई अझ तीव्र बनाएको छ।
‘एडभान्सेस इन एटमोस्फेरिक साइन्सेज’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित यस तथ्यले सन् १९५० को दशकयताकै उच्च स्तरको महासागरीय ताप रेकर्ड गरिएको देखाएको छ। अध्ययनअनुसार सन् २०२५ मा महासागरले थप २३ जेटाजुल अतिरिक्त ताप अवशोषित गरेको छ, जुन झण्डै चार दशकको विश्वव्यापी प्राथमिक ऊर्जा खपत बराबर हो।
यो निष्कर्ष निकाल्न विश्वका ३१ अनुसन्धान संस्थाका ५० भन्दा बढी वैज्ञानिकले विभिन्न स्रोत र तथ्यांकहरूको विश्लेषण गरेका थिए। यसका लागि समुद्रको सतहदेखि करिब दुई हजार मिटर गहिराइसम्मको तापक्रम र अन्य वातावरणीय परिवर्तन निरन्तर मापन गर्ने हजारौँ ‘फ्लोटिङ रोबोट’हरू परिचालन गरिएको थियो।
अध्ययनकी सह(लेखक एवं फ्रान्सेली अनुसन्धान संस्था ुमर्केटर ओसन इन्टरनेसनलुकी समुद्रविद् करिना भोन सकम्यानका अनुसार, समुद्रको गहिराइमा केन्द्रित यस अध्ययनले मानवसिर्जित हरितगृह ग्यासका कारण महासागरमाथि परिरहेको ‘निरन्तर दबाब’लाई अझ छर्लंग पारेको छ। उनले भनिन्, “अवस्था एकदमै स्पष्ट छ– सन् २०२५ को नतिजाले समुद्रको तापक्रम निरन्तर र तीव्र रूपमा बढिरहेको पुष्टि गर्छ।”
महासागरलाई पृथ्वीको जलवायु प्रणालीको प्रमुख नियामक मानिन्छ। मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्यासका कारण वायुमण्डलमा जम्मा हुने अतिरिक्त तापमध्ये करिब ९० प्रतिशत महासागरले नै सोस्ने गर्दछ। तर, यसरी महासागरमा थुप्रिएको अतिरिक्त ऊर्जाले अहिले विश्वव्यापी रूपमै गम्भीर पर्यावरणीय संकटहरू निम्त्याइरहेको छ।
तातो महासागरले वायुमण्डलमा आद्रता बढाउँछ, जसले उष्णकटिबन्धीय चक्रवात र विनाशकारी वर्षालाई थप शक्तिशाली एवं विध्वंसकारी बनाउँछ। पानी तातिँदा फैलिने गुणका कारण यसले समुद्री सतह बढ्ने प्रक्रियामा पनि प्रत्यक्ष योगदान पुर्याउँछ। साथै, समुद्रमा आउने ‘तातो हावाको लहर’का कारण उष्णकटिबन्धीय क्षेत्रका समुद्री मुगा (कोरल)हरू विनाश हुने अवस्थामा पुगेका छन्।
भोन सकम्यानले चेतावनी दिँदै भनिन्, “जबसम्म पृथ्वीले अतिरिक्त ताप सञ्चय गरिरहन्छ, तबसम्म महासागरको तापक्रम पनि बढिरहनेछ। यसले समुद्री सतहलाई थप उकास्नेछ र आगामी दिनमा गर्मीका नयाँ(नयाँ रेकर्डहरू कायम भइरहनेछन्।”
अध्ययनले महासागरको तापक्रम वृद्धि सबै क्षेत्रमा समान नरहेको देखाएको छ। केही क्षेत्रहरू अन्यको तुलनामा तीव्र गतिमा तातिरहेका छन्। विशेष गरी सन् २०२५ मा उष्णकटिबन्धीय महासागर, दक्षिण अटलान्टिक, भूमध्यसागर, उत्तरी हिन्द महासागर र दक्षिणी महासागरले रेकर्ड मात्रामा ताप अवशोषित गरेका थिए।
यद्यपि, अघिल्ला वर्षहरूको तुलनामा सन् २०२५ मा औसत समुद्री सतहको तापक्रममा केही कमी देखिएको छ। तर, यो गिरावट आए पनि सन् २०२५ मा मापन गरिएको तापक्रम अहिलेसम्मकै ‘तेस्रो(उच्चतम’स्तरमा रहेको अध्ययनले जनाएको छ। वैज्ञानिकहरूका अनुसार यो सामान्य कमी सन् २०२३–२०२४ को शक्तिशाली ‘एल निनो’ प्रभाव अन्त्य भई ‘ला निन्या’तर्फको संक्रमणका कारण भएको हो, जसले समुद्री सतहलाई अस्थायी रूपमा केही चिस्याउने गर्दछ।
तर दीर्घकालीन रूपमा हेर्दा, जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढिरहेकाले महासागर तातिने गति झनै तीव्र बनेको छ। विज्ञहरूका अनुसार जबसम्म ‘ग्लोबल वार्मिङ’ (विश्वव्यापी उष्णता)लाई प्रभावकारी रूपमा नियन्त्रण गरिँदैन, तबसम्म महासागरले ताप अवशोषणका हरेक वर्ष नयाँ रेकर्डहरू तोड्दै जाने निश्चित छ।
भोन सकम्यानले चेतावनी दिँदै भनिन्, “अब जलवायु प्रणालीको सबैभन्दा ठूलो अनिश्चितता ‘भौतिक विज्ञान’ होइन, बरु मानवताले गर्ने ‘छनोट’ हो।” उनका अनुसार, हरितगृह ग्यास उत्सर्जनमा तत्काल र तीव्र कटौती गर्न सके भविष्यका गम्भीर संकटहरूलाई सीमित गर्न सकिन्छ। यसले मानव समाज र प्राकृतिक प्रणालीहरू दुवै फस्टाउन सक्ने सुरक्षित जलवायु जोगाउन महत्त्वपूर्ण सहयोग पुग्नेछ । एएफपी











प्रतिक्रिया