गैँडाकोट । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै रोजगारी सिर्जना गर्ने आफूहरुको प्रयास रहेको बताएका छन् । नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरू भएको चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्न पहल गरिरहेको बताए ।
‘हाम्रो प्रयास कमसेकम यहीँ नै रोजगारी सिर्जना गरौँ र यो वैदेशिक रोजगारीमा जाने बाध्यतालाई अन्त्य गरौँ भन्ने हो’, उनले भने, ‘उद्योगी व्यवसायीले व्यक्तिगत फाइदाको लागि मात्रै नभई रोजगारी सिर्जना गर्न, राज्यलाई कर भुक्तानी गर्न र राष्ट्रको विकासका लागि काम गर्दै आएका छन् ।’
बूढा बाआमाको स्याहार सुसार गर्नुपर्ने बेलामा छोडेर विदेश जानुपर्ने नेपालीको बाध्यतालाई केही हदसम्म भए पनि कम गरौँ भन्ने उद्देश्यले आफूहरुले काम गरेको ढकालले बताए । युवाहरुलाई स्वेदशमै रोक्नका लागि निजी क्षेत्रलाई प्रवद्र्धन गर्दै राज्यले निर्माण गरेको नीति, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउनुपर्ने ढकालले बताए ।
अहिले विभिन्न अवसरका लागि युवा पुस्ता देश बाहिर जाने गरेका उल्लेख गर्दै केही युवाहरु फर्किने गरेको भए पनि धेरै उतै पलायन हुने गरेको ढकालको भनाइ छ । विदेशमै बस्ने गरी जानेक्रम बढ्नु भनेको कहालीलाग्दो अवस्था भएको उनले बताए । ‘नेपालमा पर्याप्त सम्भावना भएर पनि हामीले प्रचारप्रसार गर्न नसक्दा फाइदा लिन सकेका छैनौँ’, उनले भने, ‘नेपालमा देवघाट, मुक्तिनाथ, लुम्बिनी, सगरमाथा रहेका छन्, यसको हामीले फाइदा लिनसक्नुपर्छ ।’
नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहरलाई प्रवद्र्धन गर्नुपर्ने भन्दै उनले यसका लागि निजी क्षेत्र हरबखत तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघले नवप्रवर्तनका लागि लगानी उपलब्ध गराउन १० अर्ब रुपैयाँबराबरको कम्पनी खडा गरेको उनले बताए । ‘महासंघले प्रवद्र्धन गरेको एनडिपी कम्पनीले लगानी जुटाउन सहयोग गर्दछ’, उनले भने, ‘आन्तरिक पुँजी परिचालन गरी सहकार्य गर्न हामी तयार छौँ ।’
महोत्सव उद्घाटनका क्रममा उद्योगी व्यवसायीहरुले राज्यको नीतिको कारण उद्योगी व्यवसायी मारमा परेका गुनासो गरेका छन् । कार्यक्रममा मुनाल फुड्सका सञ्चालक दीपक भट्टराईले युवालाई स्वदेशमै रोक्ने वातावरण बनाउन राज्यले नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । साना उद्योगीलाई हेरेर नीति बनाएमा मुलुकमा उद्यमशीलता बढ्ने उनको भनाइ छ ।
राज्यको नीतिको कारण उद्योगी मारमा परेका उल्लेख गर्दै भट्टराईले राज्यको तीन ठाउँमा उद्योग दर्ता गर्नुपर्ने बाध्यता भएको उनले बताए । ‘उद्योग दर्तालाई सहज बनाउँदै अनलाइन प्रणालीमा जान सके अहिलेका युवाहरु स्वदेशमै रमाउन सक्छन्’ उनले भने, ‘आधुनिक प्रविधिमा दख्खल राख्ने युवाहरु काममा ढिलासुस्ती हुँदा कुरेर बस्न रुचाउँदैनन् र विदेश पलायन हुन्छन् ।’ युवालाई स्वदेशमै रोक्ने वातावरण बनाउन राज्य गम्भीर भएर लाग्नुपर्ने उनले बताए ।
आगामी माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन हुनेछ । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवस्थलमा बाल उद्यान, कृषि परिसरलगायत जलपरी, फिस टनेल, ओपेरा हाउस विशेष आकर्षणको रुपमा निर्माण गरिएको जानकारी दिए ।
महोत्सव सचिवालय संयोजक एवम् संघका महासचिव तेजनारायण पाण्डेका अनुसार बिहान गैँडाकोट नगरपालिकाबाट महोत्सव परिसरसम्म बृहत् शोभायात्रा निकालिएको बताए । शोभायात्रामा विभिन्न धार्मिक संघसंस्था, विद्यालय, सामुदायिक वन, वित्तीय संस्था, खेलकुदका संघसंस्था तथा विभिन्न सामाजिक संघसंस्थाले आफ्नो पहिचान झल्किनेगरी झाँकीसहित शोभायात्रामा सहभागिता जनाएका थिए ।
संघका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले महोत्सवको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सूचना प्रवाहसँगै, राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार तथा ‘ब्यानर’ एवम् ‘फ्लेक्स’ निर्माण गरी राखिएको बताए । यसपटकको महोत्सवले समग्र नवलपुरको पर्यटन क्षेत्रको विकास गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने उनले बताए ।
संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्री महोत्सवस्थलमा निःशुल्क प्रदर्शनी र बिक्री गर्ने व्यवस्था मिलाइएकोे जानकारी दिए । ‘कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकले उत्पादन गरेको कृषिउपजलाई महोत्सवमा निःशुल्क स्टल प्रदान गर्दैछौँ’, उनले भने, ‘यसले कृषकलाई कृषि पेसामा लाग्न प्रेरित गर्ने हाम्रो अपेक्षा छ ।’ काउली, मुला, गाजर, साग, बन्दालगायतका सामग्रीहरु कृषकले प्रदर्शनीमा राख्ने उनको भनाइ छ ।
कृषकले उत्पादन गरेका कृषिउपजलाई बजारीकरणमा सहयोग पु¥याउँदै पेसामा टिकाउका लागि उनीहरुको उत्पादन निःशुल्क प्रवद्र्धन गर्न लागिएको सापकोटाले बताए । दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा रु २५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी परिचालनसँगै सिसीटिभी क्यामेराबाट निगरानी, बिमा गरिएको आयोजकले जनाएको छ । त्यस्तै महोत्सव अवधिभर हरेकदिन स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।











प्रतिक्रिया