काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी र प्रतिकार्य थाल्न निर्देशन दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित ‘विपद् संवाद’ कार्यक्रममा उनले शीतलहर र हिमपातबाट आउनसक्ने स्वास्थ्य समस्यासँग जुध्न आवश्यक औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् ।
सरकार एक्लैले यो चुनौती व्यवस्थापन गर्न नसक्ने उल्लेख गर्दै गृहमन्त्री अर्यालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्था, संयुक्त राष्ट्र सङ्घीय निकाय, सञ्चार जगत्, स्थानीय समुदाय, नागरिक समाज र निजी क्षेत्रीच बलियो साझेदारी आवश्यक भएको बताए । “राहत मौज्दात, जीवन रक्षक सामग्री, न्यानो कपडा र खाद्यान्न भण्डारणमा साझेदारितालाई प्रोत्साहन गर्नुपर्छ”, उनले भने ।
गृहमन्त्री अर्यालले शीतलहर र हिमपातजस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई वैज्ञानिक र प्रभावकारी ढङ्गबाट व्यवस्थापन गर्ने उद्देश्यले पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना जारी गरिएको स्पष्ट पारे । “सुरक्षा, जीविकोपार्जन, स्वास्थ्य सेवालगायत सूचकमा यी प्रकोपले गहिरो प्रभाव पार्ने गरेका छन्”, उनले भने, “मानव जीवन र सम्पत्तिको सुरक्षा सबैको साझा उत्तरदायित्व हो, प्राधिकरणको नेतृत्वमा जारी भएको कार्ययोजना कार्यान्वयनमा तीनै तह, गैरसरकारी संस्था, नागरिक समाजको भूमिका उत्तिकै महत्वपूर्ण छ ।”
प्राधिकरणका प्रमुख कार्यकारी दिनेशप्रसाद भट्टले हिमपात र शीतलहरबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले दुई कार्ययोजना ल्याएको बताए । “सरोकारवालासँगको छलफलपछि तयार गरिएको यो कार्ययोजना मार्गदर्शन हो, यसआधारमा जिल्ला र स्थानीयस्तरमा योजना बनाउन सकिन्छ”, उनले भने । प्रमुख भट्टले शीतलहर र हिमपातबाट हुने मानवीय क्षति शून्य बनाउने जिम्मेवारी पूरा गर्नेगरी पूर्वतयारी र प्रतिकार्य गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे ।
पूर्वतयारी र प्रतिकार्यमा प्रजिअ सक्रिय
‘भर्चुअल’ माध्यमबाट छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारीहरुले शीतलहर र हिमपातको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरिएको जानकारी दिए । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लामा शीतलहरबाट दुई हजार आठ सय ७७ घरपरिवार प्रत्यक्ष प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिँदै प्रभावितलाई कम्बल र दाउरा वितरण गर्ने तयारी गरिएको बताए ।
“वन क्षेत्र कम भएकाले दाउराको अभाव छ, जाडोमा ‘टायर’ बाल्ने चलन रहेछ, यसपटक टायरको बिकल्प दिनेछौँ”, उनले भने, “शीतलहर र बाक्लो हुस्सुका हुनसक्ने सडक दुर्घटना रोक्न विशेष अभियान सञ्चालन गर्नेछौँ ।” विगतमा शीतलहरबाट बच्नका लागि मादक पदार्थ र लागुऔषध सेवन गर्ने गरेका पाइएको उल्लेख गर्दै उहाँले यस वर्ष यही मङ्सिर १५ देखि त्यसविरुद्ध पनि अभियान सञ्चालन गरिने बताए ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शीतलहरबाट प्रभावित हुनसक्ने सङ्ख्या पहिचान गर्ने र स्थानीय कार्ययोजना निर्माणको काम थालिएको बताए । “डिभिजन वन कार्यालयको सहयोग र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रमा दाउरा वितरण गर्ने तथा राजमार्गमा सवारी दुर्घटना हुन नदिन सचेतना कार्यक्रम गर्ने तयारी गरेका छौँ”, उनले भने ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिमपातबाट जिल्लाको पर्यटन व्यवसाय प्रभावित हुने जनाउँदै पर्यटकलाई पथप्रदर्शन बिना त्यस्ता क्षेत्रमा जान नदिइने तयारी गरिएको बताए । “मनाङको जनसङ्ख्या पाँच हजार छ सय ५८ हो, हिमपातका समयमा यहाँका स्थानीय प्रायः जिल्ला बाहिर रहने गरेका छन्, हिमपातमा फसेका पर्यटकको उद्धारलाई नै प्राथमिकता दिनुपर्छ”, उनले भने ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेले जिल्लाको ७० प्रतिशत भूभाग उच्च हिमाली क्षेत्रमा पर्ने जानकारी दिँदै हिमपात पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिएको बताए ।












प्रतिक्रिया