काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतको सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय नवौँ समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रणलगायत बारेमा छलफल भएको थियो ।
यस्तै, सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान गर्नेबारेमा विचारविमर्श भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालित सो बैठकमा गत मङ्सिरमा काठमाडौँमा सम्पन्न आठौँ समन्वयात्मक बैठकबाट पारित एजेण्डा कार्यान्वयको विषयमा समीक्षा भएको थियो । बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो ।












प्रतिक्रिया