अमेरिका। सुख्खा मौसममा दैनिक १८ घण्टासम्म हुने गरेको लोडसेडिङको अन्त्य गरी चर्चाको शिखरमा पुगेका कुलमान घिसिङ अन्ततः दलीय राजनितिमा होमिन पुगेका छन्। २०७३ भदौ २९ मा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदमा नियुक्त भएसंगै उनले लोडसेडिङको अन्त्य र उर्जा क्षेत्रमा सुधार तथा विकासमा महत्वपूर्ण कदमहरु चालेपछि उनको चर्चा र प्रशंसा चुलिन पुगेको थियो।
कुलमानले उक्त पदमा दोश्रो कार्यकालका लागि अर्थात २०७८ साउन २७ मा पुन: नियुक्ति पाएका थिए। जस अनुसार उनको ४ वर्षीय कार्यकाल २०८२ साउन २४ सम्मका लागि थियो। तर, एमाले र नेपाली काँग्रेसको गठबन्धनमा केपी ओलीको नेतृत्वमा बनेको सरकारले २०८१ चैत ११ मा नै घिसिङलाई पदबाट बर्खास्त गरिदिएको थियो। यही रन्कोमा देशदेखि विदेशसम्म कुलमान दृश्य रुपमा भेटघाट तर अदृश्य रुपमा राजनिति यात्रातिर होमिन पुगे। परिस्थितिले उनी जेनजी आन्दोलन पश्चात् सुशीला कार्कीको नेतृत्वमा बनेको वर्तमान अन्तरिम सरकारमासमेत सहभागी हुन पुगे। र, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालन पुगे।
आउदो २०८२ साल फागुन २१ गते संसदीय निर्वाचन सम्पन्न गर्नु पर्ने जिम्मेवारी प्राप्त गरेको सरकारमा संघीय मन्त्रीको भूमिकामा रहेका घिसिङले पार्टी खोल्ने चर्चा निकै पहिलादेखि नै हुदैआइरहेको थियो। यसैक्रममा, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा आवद्ध भएर अघि बढ्ने निकै चर्चा र प्रयासहरु भए। धरानका मेयर हर्क साम्पाङ राईको नेतृत्वमा खुलेको नयाँ पार्टी ‘श्रम संस्कृति पार्टी’मा आबद्ध हुने भन्ने चर्चा पनि चल्यो।
यता काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साह, सुदन गुरुङलगायतसंग सहकार्य गरेर नयाँ पार्टी खोल्ने प्रयासहरु भएको निकै चर्चा चल्यो। तर, ति सबै चर्चा र प्रयासहरुले सार्थकता नपाएपछि, अन्ततः गत २०८२ साल साउन २७ मा नै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको ‘उज्यालो नेपाल पार्टी’ कै आडमा कुलमान अघि बढ्न वाध्य भएका छन्। र, उक्त पुरानो निवेदनलाई २०८२ साल मङ्सिर २५ गते मङ्गलवार संशोधन गरी पूर्व उर्जासचिव अनुपकुमार उपाध्यायलाई पार्टीको अध्यक्ष पद सुम्पिएर आफू नेपथ्यमा रही दलीय राजनितिमा होमिन पुगेका छन्।
निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको उक्त ‘उज्यालो नेपाल पार्टी’ मा हाल ५१ सदस्यीय केन्द्रीय समिति रहेको छ भने, पार्टीको चुनाव चिन्ह बिजुलीको चिम प्रस्ताव गरिएको छ। पार्टीको केन्द्रीय समितिमा इन्जिनियरहरू, आदिवासी जनजाति तथा पहिचानलाई केन्द्रमा राखेर राजनीतिमा होमिएका तथा केही चर्चामा रहेका अनुहारहरुलाईसमेत समेटिएको देखिन्छ। निर्वाचन आयोगमा दिइएको निवेदनमा केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष र बाँकी सबै(५० जना) सदस्य रहेका छन्।
केन्द्रीय समितिको सदस्यहरुमा डा. तारा प्रसाद जोशी, प्रा.डा. महेन्द्र सुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेक राज सिंह, डा. शंकर ढकाल, ई. तेजनारायण यादव, कलाकार रिमा विश्वकर्मा, टासी ल्हामोल्म, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, सीता देवी पाण्डेय, ज्ञानेन्द्र कुमार तामाङ, डकेन्द्र सिंह थेगिम, डा. आशुतोष विजय पन्त, डाबर लावती, हिरा प्रसाद सोती (किरण वि.क.) सोम प्रसाद चौधरी, विजय कँडेल, अरविन्द साह,कुशल गरुङ, निर्देश सिलवाल, लाक्पा फुटी शेर्पा, सुवास प्रधानलगायत रहेका छन्।












प्रतिक्रिया