किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो ।
प्रतिकूल मौसमका कारण मङ्गलबार देखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताए । निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उनले सबैमा अनुरोध गरे ।
उत्तरी क्षेत्रको चार हजार भन्दामाथि निरन्तर हिमपात भइरहँदा चिसो बढेको, खाद्यन्य र अन्य अत्यावश्यक सामग्रीसमेत अभाव हुनसक्ने भन्दै मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्नु उपयुक्त हुने प्रजिअ थपलियाको भनाइ छ ।
मकालु आधार शिविरमा नेपालीसहित दुई सयबढी पर्वतारोही शिविरमा रहेका प्रशासनले जनाएको छ । प्रजिअ थपलियाका अनुसार सत्तरी जना विदेशी नागरिकसहित दुई सयभन्दा बढी नेपाली पर्वतारोही अहिले आधार शिविरमा छन् । जिल्लाको मकालु, सभापोखरीसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेको उनले जानकारी दिए ।
निरन्तर वर्षा भइरहँदा पहिरो जानसक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत प्रशासनले सबैमा अनुरोध गरेको छ । पहिरोको जोखिममा रहेका परिवारलाई सचेत रहन आग्रह गर्दै प्रजिअ थपलियाले उच्च जोखिममा रहेका परिवारको स्थानान्तरणमा सहजीकरण गर्न १० वटै स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिलाई आग्रह गरे ।
बाढीपहिरोको जोखिम भए वा विपद्को जोखिमको सम्भावना भएमा जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।
इटालियन नागरिक अलपत्र
मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आधार शिविर पुगेका एक इटालियन नागरिक खराब मौसम र हिमपातका कारण अलपत्र परेका छन् । मकालु आधार शिविरभन्दा केही माथि पुगेपछि इटालियन नागरिक जेसस मार्टिनेज नोभास अलपत्र परेका हुन् ।
लगातारको वर्षा र हिमपातका कारण करिब पाँच हजार ७०० मिटरको उचाइमा रहेका इटालियन नागरिक नोभासको मङ्गलबारदेखि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । उनको उद्धारको पहल भइरहेको छ । सङ्खुवासभाको उच्चहिमाली भेगमा मङ्गलबारदेखि निरन्तर वर्षा र हिमपात भइरहेको छ ।
“उद्धारका लागि हेलिकप्टर माग गरेका छौँ, प्रतिकूल मौसमका कठिनाइ भइरहेको छ”, प्रहरी नायब उपरीक्षक मैनालीले भने । लगातारको वर्षा र उच्चहिमाली भेगमा भइरहेको हिमपातका कारण चार हजार मिटरभन्दा माथिको क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।












प्रतिक्रिया