मोन्टेभिडियो । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानुनी मान्यता दिएको छ । योसँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानुनीरूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ ।
दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानूनहरूको इतिहास बनाइसकेको छ । अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छामृत्यु पनि त्यस सूचीमा थपिएको हो ।
सिनेटमा भएको मतदानमा उपस्थित ३१ मध्ये २० जना सांसदले विधेयकको समर्थन गरेका थिए । तल्लो सदन अर्थात् प्रतिनिधिसभाले यसअघि अगस्टमा यसलाई अनुमोदन गरिसकेको थियो । करिब १० घण्टासम्म चलेको गम्भीर र भावनात्मक बहसपछि यो मतदान सम्पन्न भएको हो ।
यसलाई धेरै सांसदले ‘राजनीतिक रूपमा सबैभन्दा कठिन विषय’ भनेका थिए । विधानसभा भवनको ग्यालरीमा उपस्थित दर्शकमध्ये केहीले निर्णयपछि ‘हत्याराहरू’ भन्दै नाराबाजी गरे पनि बहस प्रायः मर्यादित र सभ्य रहेको थियो । एएफपी












प्रतिक्रिया