मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रुसका राजदूतको भावुक बिदाइ, भने– ‘फेरि भेटौँला’

रुसका राजदूतको भावुक बिदाइ, भने– ‘फेरि भेटौँला’


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालका लागि रुसी संघका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आफ्नो छैठौँ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गर्दै नेपालबाट बिदाइ लिएका छन् ।

एक दशकभन्दा बढीको समय नेपालमा बिताएपछि उनले यस देशलाई ‘दोस्रो घर’को रूपमा उल्लेख गर्दै गहिरो भावनात्मक सन्देशमार्फत् आफ्नो बिदाइ घोषणा गरेका छन् ।

राजदूतले नेपाललाई केवल एक कूटनीतिक पोस्ट नभई, स्मृतिहरू, मित्रता र नेपाली जनताको संस्कृति तथा परम्पराप्रतिको सम्मानले भरिएको जीवनको मह¤वपूर्ण हिस्सा भएको बताए ।

‘नेपालले मलाई आत्मीक शान्ति र अद्भुत शक्तिबीचको सन्तुलन देखायो’, राजदूतले भने, ‘यहाँको सादगीमा बुद्धिमत्ता छ, विनम्रतामा बल र कठिनाइँमा पनि गरिमा छ ।’

रुस–नेपाल सम्बन्धको मजबुत विकास

राजदूतले आफ्नो कार्यकालमा रुस–नेपाल सम्बन्धको स्थिर र गहिरो विकास भएको उल्लेख गरे । कूटनीतिक सम्बन्ध परम्परागत सीमाभन्दा बाहिर बढ्दै शिक्षा, विज्ञान, संस्कृति, ऊर्जा, मानवीय आदानप्रदान र क्षेत्रीय सहकार्यसम्म फैलिएको उनले बताए ।

सिस्टर–सिटी (दाजुभाइ नगरपालिका) कार्यक्रमहरूलाई उनले उल्लेखनीय सफलता मान्दै ‘रुसी र नेपाली नगरपालिकाबीचको प्रत्यक्ष सम्पर्कले नागरिकस्तरमा आपसी समझदारी र साझेदारी बढाएको छ’, उनले भने ।

शिक्षा र जनस्तरको सम्बन्धमा विशेष जोड

राजदूतको कार्यकालमा रुसी विश्वविद्यालयहरूमा नेपली विद्यार्थीको संख्या उल्लेखनीयरूपमा वृद्धि भएको छ । उनले शिक्षा क्षेत्रमा बढ्दो सहयोगलाई दुई राष्ट्रबीचको मैत्रीको मेरुदण्डको रूपमा चित्रण गरे ।

‘नेपाली विद्यार्थीहरू केवल डिग्री लिएरमात्र फर्कंदैनन्, उनीहरू रुसको संस्कृति, इतिहास र जीवनशैलीको प्रत्यक्ष अनुभव लिएर फर्किन्छन् र यी युवाहरू नै हाम्रो मित्रताको साँचो दूत हुन्’, उनले भने ।

रुसी हाउस काठमाडौँमार्फत आयोजित चलचित्र महोत्सव, भाषा प्रतियोगिता, साङगीतिक कार्यक्रम र प्रदर्शनीहरूले नेपाली समाजमा रुसप्रति चासो र समझदारी थपिएको राजदूतको भनाइ थियो ।

कूटनीतिक सहकार्य र साझा मूल्यहरू

राजदूतले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले अपनाएको तटस्थ, शान्तिपूर्ण, असंलग्न परराष्ट्र नीति र संयुक्त राष्ट्रसंघमा रुसले प्रस्तुत गरेका प्रस्तावहरूमा नेपालले दिएको समर्थनप्रति कृतज्ञता व्यक्त गरे ।

‘नेपालको सन्तुलित र स्वतन्त्र नीति केवल कूटनीतिक दृष्टिकोण मात्र होइन, नैतिक दृष्टान्त पनि हो’, उनले भने, ‘नेपालले देखाएको मार्गदर्शनले आजको विभाजित विश्वमा निष्पक्षता र संवादको सम्भावना देखाउँछ ।’

व्यक्तिगत भावनाहरूसहितको बिदाइ

राजदूतले नेपाली सरकारी निकाय, स्थानीय प्रशासन, व्यापारी, विद्वान, कलाकार, पत्रकार र रुसको समुदायका साथै कूटनीतिक सहकर्मीहरूप्रति आभार प्रकट गरे ।

‘म के सबैभन्दा बढी मिस गर्नेछु भने त्यो हो– यहाँका मानिसहरू’, उनले भने, ‘काठमाडौँ उपत्यकाको बिहानको प्रकाश, चाडपर्वहरूको उत्साह र हिमाली गाउँहरूको शान्त गरिमा, यी सबै मेरो हृदयमा सदैव रहनेछन् ।’

बिदाइ सन्देशको अन्त्यमा उनले भने, ‘म बिदा भन्न चाहन्न । म भन्छु– फेरि भेटौँला । म फर्किनेछु– सायद राजदूतको रूपमा होइन, तर सदैव मित्रको रूपमा ।’

शेयर गर्नुहोस:

189
Shares