चितवन । चितवनका प्रमुख पर्यटक गन्तव्यहरू मुख्य याममै एकाएक सुनसान देखिएका छन्। विशेषगरी सौराहा, मेघौली र पटिहानीजस्ता स्थानहरूमा पर्यटकहरूको आवागमन झिनो देखिँदा स्थानीय पर्यटन व्यवसायीहरू चिन्तित भएका छन् ।
विशेष गरी पर्यटन प्रवर्द्वन गर्ने निकाय पर्यटन कार्यालय सौराहासँगै व्यवसायीहरूको साझा संस्था क्षेत्रीय होटल संघ नेपाल सौराहाले काम नगर्दा यहाँको पर्यटन क्षेत्र थप मारमा परेको व्यवसायीहरूको गुनासो छ । सरकारी निकाय र व्यवसायी संस्था व्यक्तिगत, गुट र राजनीतिक हावी हुँदा कोठे कार्यक्रम गरी सरकारी बजेट सिध्याउन यी दुई संस्थामा राजनीति हावी भएको एक होटल व्यवसायीले दुखेसो पोखे ।
उनले भने, ‘उहाँहरू अहिलेको विषम परिस्थितिमा पर्यटन उकास्नेभन्दा गुट भेला, स्वागतमा मात्र व्यस्त देखिनुहुन्छ ।’ यहाँ सबै व्यवसायीलाई समेटी समान दृष्टिकोण नबनाउदा सौराहा क्षेत्रको पर्यटन धराप बनाउन सक्रिय भएको अनुभूति भएको उनले बताए ।
आर्थिक वर्षको तुलनामा यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या करिब २५ प्रतिशतले घटेको छ। पयर्टन कार्यालयमा आएको बजेट अनावश्यक फजुल कार्यक्रममा खर्च गरेका कारण व्यवसायीहरू पर्यटन कार्यालयका प्रमुख नै सुरूवा गर्न माग गरिरहेका छन् । यो प्रवृत्तिसँगै होटल, होमस्टे, रेस्टुरेन्ट तथा सफारी सञ्चालन व्यवसायहरूमा आम्दानीमा ठूलो गिरावट आएको व्यवसायीहरूको गुनासो छ ।
‘अब त खाना खर्च पनि तिर्न गाह्रो भयो’, सौराहाका होटल व्यवसायी तथा पूर्वअध्यक्ष सुमन घिमिरे भन्छन्, ‘कोठा बुकिङ शून्य छ, पर्यटक आउँदैनन् ।’
व्यवसायीहरूले मुख्य समस्याको रूपमा नारायणगढ–मुग्लिन सडकको जर्जर अवस्था आएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले बताए ।
लगातार हुने निर्माण तथा मर्मत कार्यका कारण आवागमन अवरुद्ध हुने गरेको छ, जसले देशी तथा विदेशी पर्यटकलाई चितवन पुग्न हतोत्साहित बनाइरहेको छ ।
चितवन पर्यटन परिषद्का अनुसार, आवागमनको असुविधा, प्रचारको कमी, र पर्यटक गतिविधिहरूको विविधता नहुनु पनि चितवनको पर्यटनमा आएको गिरावटको मुख्य कारण हुन् ।
पर्यटन क्षेत्र संकटमा पर्दा पनि स्थानीय र प्रदेश सरकारको चासो नदेखिएको व्यवसायीहरूको आरोप छ। ‘सरकारको सहयोगबिना अब पर्यटन व्यवसाय उकास्न सकिन्न’, चितवनका पर्यटन विज्ञ विश्व सुवेदी बताउँछन् ।
चितवनको पर्यटन पुनर्जीवनका लागि सडक र यातायात पूर्वाधार सुधार, अन्तर्राष्ट्रियस्तरमा प्रचार‑प्रसार, जंगल सफारीबाहेक अन्य विविध गतिविधि विकास र घरेलु पर्यटक लक्षित छूट र प्याकेज कार्यक्रमजस्ता महत्त्वपूर्ण कदमहरू चाल्नु आवश्यक रहेको उनी बताउँछन् ।












प्रतिक्रिया