काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त भए पनि वैदेशिक रोजगार विभागले श्रमसम्बन्धी सेवा निरन्तर दिइरहेको छ ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनले आगजनी र तोडफोड भएको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षित रहेका केही कोठालाई व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको छ ।
व्यक्तिगत श्रम स्वीकृति, वैदेशिक रोजगार कार्यालयको सहायता कक्ष, प्रशासन शाखा, उद्धार तथा राहत समन्वय शाखा, आर्थिक प्रशासन शाखाबाट सेवा सञ्चालन भइरहेको श्रम मन्त्रालयका सह–प्रवक्ता तथा उपसचिव मेघनाथ रिमालले जानकारी दिए । उनका अनुसार धेरै श्रमसम्बन्धी कार्य अनलाइनमार्फत हुने भएकाले विभागको भवन क्षतिग्रस्त भए पनि काममा अवरोध भएको छैन ।
यस्तै, श्रमसम्बन्धी गुनासो र उजुरी लिने, राहत र उद्धार सेवालाई विभागले अत्यन्त महत्त्व दिएर काम गरिरहेको सह(प्रवक्ता रिमालले जानकारी दिए । “वैदेशिक रोजगार विभाग जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले यसको कार्यमा कुनै अवरोध नआउने गरी सञ्चालन गरिरहेका छौँ”, उनले भने, “यद्यपि, भौतिक क्षति हुँदा कर्मचारीलाई व्यवस्थितरूपमा सेवा प्रदान गर्न भने कठिनाइ भइरहेको छ ।”












प्रतिक्रिया