
पृष्ठभूमि
‘एक जुगमा एकदिन एकचोटि आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ…’ कविवर गोपालप्रसाद रिमालको यो शब्द नेपालको राजनीतिक इतिहासमा पटक–पटक चरितार्थ भएको छ र फेरि एकपटक यो शब्द चरितार्थ भएको छ । के साँच्चै भाद्र २३ र २४ को युवा विद्रोह त्यही सामाजिक सञ्जालमाथिको निषेध मात्र थियो ? होइन भने यो विद्रोहको आधारभूमि के थियो ? के यो विद्रोहले नेपालको राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा आमूल परिवर्तन गर्ला ? अवस्था सामान्यकरण हुँदै गर्दा यो विद्रोहले कुन अवसर गुमायो ? आज आमचासोको विषय यही रहेको छ र यो लेखमा यसै विषयमाथि छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
२००७ सालको क्रान्ति, २०१७ सालको क्रान्ति, २०४६ सालको पहिलो जनआन्दोलन, २०५२ सालदेखिको दशवर्षे माओवादी जनयुद्ध र त्यसको जगमा भएको २०६२-०६३ को दोस्रो जनआन्दोलन । प्रत्येक क्रान्तिले राजनैतिक परिवर्तन ल्याएको छ तर त्यसले आमजनताको दैनिकीमा खास परिवर्तन ल्याउन सकेन । नेपालमा कहीँ न कहीँ हरेक क्रान्तिपछि प्रतिक्रान्ति भएको छ । जनताको उल्लास चाहनाहरु हेर्दा हेदै निराशामा परिणत भएका छन् । २०४६ सालपछिको २०४७ सालको नेपालको संविधान विश्वकै उत्कृट पनि भनिएको थियो । तर, त्यसको मसी सुक्न नपाउँदै तत्कालीन माओवादीले २०५२ सालमा जनयुद्ध सुरू गर्यो जसमा सत्र हजार नेपालीले ज्यानको बलिदान दिनुपर्यो । २०७२ को संविधान झनै संविधानसभाले बनाएको जनताको संविधान भनिएको थियो । तर, त्यसले आमजनताको दैनिकीमा कुनै परिवर्तनको आभाष दिन सकेन । हिजो जनताको घरमा, पायल चप्पल लगाएर सिल्भरको थालमा भात खाने नेताहरु रातारात आलिसान भवनमा बस्ने, प्राडो–पजेरोमा हिँड्ने, आफूलाई राजा महाराजा घोषित गरे । तर, जनताको दैनिकी हिजोभन्दा आज विकराल बन्दै गयो । भ्रष्टाचार कुशासनको जरा यति झाङ्गियो कि कर्मचारीतन्त्र, नेतातन्त्रले मागेको कुन रकम नियम संगत हो कुन भ्रष्टाचार हो जनतालाई बुझ्न गाह्रो हुँदै गयो ।
के हो जेनजी ?
सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्तालाई समाजशास्त्रीहरुले पुस्ता जेड वा जी (जेनेरेसन जेड) नामाकरण गरेका छन् । आजको समयमा यो पुस्ता १३ देखि २८ वर्ष उमेर समूहको रहेको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार नेपालमा १० देखि २९ वर्षसम्मको जनसंख्या एक करोड ११ लाख १८ हजार ६ सय अर्थात् कुल जनसंख्याको ३८.१२ प्रतिशत रहेको छ । जेनजी पुस्ता जनसंख्याको सबैभन्दा उत्पादनशील उमेर समूह हो, सबैभन्दा विद्रोही उमेर समूह हो । विश्वमा नै यो पुस्ता डिजिटलमैत्री रहेको छ । बाहिरी समाजभन्दा स्क्रिनमा रमाउने पुस्ता हो । विशेषतः यो भन्दा पहिलाको पुस्ता एक्स र वाईभन्दा राजनैतिक चेतना कम भएको पुस्ता मानिए तापनि उनीहरुमा डिजिटल माध्यमबाट नै विश्वका हरेक खबरमा सचेत छ । विश्वका कुन मुलुक कसरी सञ्चालनमा छन्, कुन मुलुकमा के भइरहेको छ सामाजिक सञ्जालको माध्यमबाट जानकारी लिइरहेका छन् । वास्तवमा सुशासन भनेको के हो ? नेपालमा भइरहेको के छ ? उनीहरु यो विषयमा सामाजिक सञ्जालबाट नै खबरदारी गरिरहेका थिए ।
धेरै मानिसहरुको बुझाइ छ केपी ओली सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएका कारण यो आन्दोलन भएको हो । सामान्यरुपमा यो नजर गलत छैन तर यो आन्दोलन अहिले जुन जेनजी मुभमेन्ट भनिएको छ । यसको पछाडि लामो समय र धेरै कारणहरु छन् । यो पुस्ता देश र जनताले आज जुन दयनीय अवस्था भोगिरहेको छ, त्यसको एकमात्र कारण भनेको देशको नेतृत्व गर्ने राजनैतिक दल, नेता र कार्यकर्ता र कर्मचारी हुन् भन्ने मान्दछन् । देश विकास नहुनु सुशासन कायम गर्न नसक्नु राजनीतिक दल, नेता र कार्यकर्ता र कर्मचारीतन्त्रको मात्र कारण नहोला तर उनीहरुको भूमिका प्रधान नै हो । यसमा कुनै र कसैको विमत्ति छैन ।
यो आन्दोलनको पृष्ठभूमि हेर्न हामीले कम्तीमा २०६२-०६३ को आन्दोलनमा पुग्नु पर्दछ । २०६२-०६३ को आन्दोलनको बेलाको समयमा यो पुस्ताको पहिलो पङ्क्ति ६ देखि ८ वर्षका थिए । उनीहरुलाई अरु थाहा नभए पनि देश भीषण आन्दोलनमा छ भन्ने जानकारी पक्कै थियो । कतिपय उनीहरु माओवादी, सेना, प्रहरीको दमनबाट पिल्सिएका थिए, पीडित थिए । कतिपयले अभिभावक, आफन्त गुमाएका थिए । त्यसपछिको परिवर्तनले नेपाललाई कायापलट गर्छ भन्ने कुरा अभिभावक, आफन्तको छलफल हाउभाउबाट पक्कै थाहा थियो । तर, त्यसको १२ वर्ष देश सङ्क्रमणकालबाट नै गुज्रियो । बल्ल–बल्ल २०७२ मा संविधान बन्यो त्यसपछि झनै अस्थिरताको माहोल बन्यो ।
देशमा सुशासन कायम होला भन्ने आश दिनदिनै निराशामा परिणत भयो । २०७२ को संविधानअनुसारको पहिलो चुनावबाट बनेको सरकारले नै देशलाई अस्थिरतामा धकेल्यो । प्रतिनिधसभा विघटन भनेको छ, आन्दोलन भनेको छ । जताततै कुशासन छ । युवा देश छाड्न आतुर छन् । घूस नदिईकन नागरिकतादेखि पासपोर्ट बनाउन सकेको छैन । विदेश जान श्रम स्वीकृति लिनदेखि शिक्षाको लागि नो अब्जेक्सन लिनसमेत घूस खुवाउनुपर्ने बाध्यता छ । विदेश जान हिँड्यो विमानस्थलमा समेत घूस खुवाउनुपर्ने, आफ्नो देश फर्केर आयो सानो सानो आवश्यकताको सामानमा पनि सरकारले आँखा गाड्ने । घरमा अभिभावकको कुरा पनि यस्तै यस्तै सुन्ने, समाजमा निस्क्यो उही समस्या । राजमार्गको यात्रामा निस्कियो बाटोको अवस्था झनै दयनीय छ । एउटा राजमार्ग निर्माण गर्न दसौँ वर्ष लागेको छ ।
जनताको दैनिकी भयाभह अवस्थामा पुग्दासमेत राजनीतिक दल र नेतृत्वमा चेत आएको देखिएन । उनीहरु केवल राजनीतिक स्वार्थ पूरा गर्नको लागि आरोप-प्रत्यारोप गर्नेबाहेक केही गरेनन् । सरकारमा भएकाको ध्यान सरकार जोगाउन र प्रतिपक्षको ध्यान सरकारमा जान नै आफ्नो शक्ति लगाए । यस्ता साना ठूला कारणले यो पुस्ताको दिल दिमागमा विद्रोहको ज्वारभाटा उम्लिरहेको थियो । जति पनि विसंगति थिए, सामाजिक सञ्जालमा नै पोखिरहेका थिए । एक्कासि सरकारले त्यही असहमतिका शब्द लेख्ने सामाजिक सञ्जाल एकाएक बन्द गरेपछि उनीहरुलाई अब अन्याय सहन हुँदैन भन्ने लाग्यो र सडकमा आए । यो आन्दोलन हुन कम्तीमा पनि २० वर्षको पृष्ठभूमि रहेको छ । केपी ओलीले केवल ट्रिगर दबाएका मात्र हुन्, बारुद भरिएको दुई दशकदेखिको हो ।
नेपालमा भएको यो नै पहिलो आन्दोलन हो जसमा कुनै नेतृत्व थिएन र आन्दोलनकारीको सामाजिक सञ्जाल खुलाउने र भ्रष्टाचार अन्त्य गर्ने भन्ने भन्दा अरु माग पनि थिएन । केपी ओलीको सरकारको राजीनामा पनि थिएन । तर, यी युवाहरुको आन्दोलनमा घुसपैठ भएको सत्य हो । विद्यालय, कलेजको पोसाकमा संसद् भवन छिर्न खोज्ने पक्कै आन्दोलनकारी थिएनन्, घुसपैठ गर्नेहरु थिए । उनीहरु को को थिए नेपाली जनतालाई पक्कै थाहा छ । कोही व्यवस्थाविरोधी थिए, कोही सरकारविरोधी थिए र कोही विध्वंशमा आनन्द लिने खालका थिए । केही विदेशी शक्तिहरु पनि हुन सक्छन् । यो आगोको रापमा पेट्रोल छर्कने कामचाहिँ सरकारको चरम् दमन र पहिलो दिनको १९ जनाको नरसंहार थियो ।
अझै पनि यो जनआन्दोलन थियो कि, कुनै विद्रोह थियो कि, हत्याहिंसा लुटपाट, आगजानी थियो कि कसैले भन्न सकेको छैन । साँच्चै आन्दोलन वा विद्रोह मात्र थियो भने सिंहदरबार, सर्वाेच्च अदालत, जिल्ला अदालतहरु, राष्ट्रपति निवासमा आगजानी हुँदैन थियो । व्यक्ति व्यक्तिका घर छानीछानी जलाउने, निजी व्यवसाय र प्रतिष्ठानमाथि लुटपाट र आगजानी हुँदैन थियो । आन्दोलन वा विद्रोहमा सानातिना र कहिलेकाहीँ ठूलै भए पनि तोडफोड, आगजनी हुन्छ तर नेपालको जस्तो सम्पूर्ण सरकारी, सार्वजनिक सम्पति, व्यक्तिका निजी मल, पसल, घर लुटपाट तोडफोड, आगजनी हुँदैन । यसमा संगठित तत्त्वको घुसपैठ छैन भनियो भने अन्याय हुन जान्छ । यद्यपि यो छानबिनकै विषय हो ।
पृष्ठभूमि जे भए पनि, आन्दोलनकारी जो भए पनि र घुसपैठ जसले गरे पनि केही हदसम्म देशको शासनले एउटा बाटो तयार गरेको छ । केही हदसम्म सर्वमान्य सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार गठन भएको छ । चार सदस्यीय मन्त्रिपरिषद्मा अन्य तीनजना आफ्नो विषयमा सफलता हासिल गरेका पात्रहरु नै छन् यसमा असन्तुष्ट हुनुपर्ने कारण केही छैन ।
छुटेका कुरा
यो सरकार भनेको युवा विद्रोहको जगमा बनेको सरकार हो । यही नै यसको वैधानिकता हो । तर, सरकार बन्दै गर्दा यो अन्तरिम चुनावी सरकार बनेको छ । र, यसले गर्ने भनेको यही संविधानभित्र रहेर गर्ने प्रतिनिधिसभाको नै चुनाव हो । हिजो सरकार स्थिर बन्न नसकेको यही संविधानमा रहेको चुनावी प्रणलीले हो । यही विद्रोहको आँधीबेहरीको बेला पूर्ण समानुपातिक प्रतिनिधिसभा र प्रत्यक्ष कार्यकारी त्यो प्रधानमन्त्री होस् वा राष्ट्रपतिको मद्दा पनि सम्बोधन गर्न सकेको भए राम्रो हुने थियो । यसमा सुझबुझपूर्ण निर्णयको खाँचो थियो तर त्यो पार भइसकेको छ ।
अबको बाटो
यो आन्दोलनमा कोही नेतृत्व थिएन । भोलि चुनावमा जाँदा पनि युवाहरु समूह–समूहमा जाने हो भने फरि यीनै राजनीतिक दलहरुको हातमा नै शासन सत्ता पुग्ने सम्भावना रहेको हुँदा जेनजी विद्रोहको मुद्दा यसै हराउने सम्भावना रहन्छ । अब युवाहरुले आफ्नो मुद्दा लिएर एकत्रित भएर आगामी चुनावमा जाने वातावरण तयार गर्नु पर्दछ या कि फेरि यही पुराना दलहरु सत्तामा पुग्न नसकून् । युवाहरु सत्तामा पुगेर यो संविधानलाई परिमार्जन गर्न आवश्यक छ । भएका राम्रा दफाहरु कायम राख्दै चुनाव प्रणली, शासकीय प्रणाली, संघीय प्रणालीजस्ता कुराहरु जसले छिटो छिटो सरकार परिवर्तन गर्ने र सरकारको साधारण खर्चको गुणात्मक वृद्धि गरेको छ त्यस्ता दफाहरु परिमार्जन आवश्यक छ । देशले प्रसव पीडा भोगेको छ, यसले आगामी पुस्ताजी, अल्फा र बेटाको पनि भविष्य सुखद होस् । रोजीरोटीकै लागि देश छाड्ने बाध्यता कसैको नहोस्, जय जेनजी !
X: @jiamritbabu












प्रतिक्रिया