काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छिन् । यो नियुक्तीसँगै नेपालले पहिलो महिला महान्यायाधिवक्ता पाएको छ ।
जेन–जी पुस्ताको आन्दोलनको कारण मुलुकमा नयाँ सरकार बनेको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गराउनेछ । प्रधानमन्त्री कार्कीले पनि आज पदभार ग्रहण गर्दा चुनाव गराएर आफ्नो जिम्मेवारी हस्तान्तरण गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत गरेका थिए ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा महान्यायाधिवक्ता बडालले यही भदौ २४ गतेदेखि लागू हुनेगरी पदबाट दिएको राजीनामा स्वीकृत भएको जनाइएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै राजीनामा दिएका थिए । प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने चलन रहेको छ ।












प्रतिक्रिया