काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार राति शीतल निवासमा भएको लामो छलफलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति बनेको छ। हाल पनि शीतल निवासमै वार्ता जारी रहेको स्रोतले जनाएको छ।
राष्ट्रपति पौडेलले यसअघि प्रमुख दलका नेताहरूसँग (एमाले, कांग्रेस र माओवादी) छलफल गरेका थिए। ती नेताहरूले पनि आन्दोलनरत जेनजी समूहको भावनाबमोजिम कार्कीको नेतृत्वमा अन्तरिम सरकार अघि बढाउन सकिने धारणा राखेका छन्।
छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की र कानुनविद् ओमप्रकाश अर्याल सहभागी थिए। अर्यालले काठमाडौँ महानगर प्रमुख बालेनको प्रतिनिधित्व गरेका थिए। जेनजी समूहले प्रस्ताव गरेका अन्य एजेन्डाहरू — संसद् विघटन, आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा र क्षतिपूर्ति, घाइतेको उपचार, तथा विगत ३० वर्षयताका भ्रष्टाचार छानबिनका लागि आयोग गठन — बारे पनि विस्तृत छलफल भएको बताइएको छ।
यता, कार्कीको नाम टुंगो लागेसँगै सम्भावित विरोध वा प्रदर्शन रोक्न सेनाले सुरक्षा तयारी कडा बनाएको छ। बिहीबार साँझ ७ बजेदेखि नै कर्फ्यू जारी गरिएको छ र सर्वसाधारणलाई घर फर्कन आग्रह गरिएको छ।
मध्यरातसम्म काठमाडौँका मुख्य सडकहरूमा सेनाको बाक्लो उपस्थिति देखिएको छ। भद्रकालीस्थित सैनिक मुख्यालय, नारायणहिटी, सिंहदरबार, शीतल निवास, निर्मल निवासलगायत स्थानमा सुरक्षा सतर्कता बढाइएको छ। सेनाका ब्यारेकहरू उच्च सतर्क अवस्थामा राखिएको छ भने बाहिरका जिल्लाबाट समेत गाडी र फौज काठमाडौं भित्र्याइएको सैनिक स्रोतले पुष्टि गरेको छ।












प्रतिक्रिया