काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हाल भइरहेको आन्दोलनलाई शान्तिपूर्ण निकास दिन वार्तामा आउन सम्बद्ध पक्षलाई आह्वान गरेका छन्। मंगलबार साँझ भिडियो सन्देशमार्फत उनले असहज परिस्थितिलाई सामान्य बनाउँदै राष्ट्रको सर्वोपरि हितलाई सुरक्षित राख्न सबैलाई अनुरोध गरे।
प्रधानसेनापतिले भने, “आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो रोज्न म अपिल गर्दछु। राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो।”
उनले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरे।
सिग्देलले शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै, राष्ट्रिय सम्पदा, सार्वजनिक तथा नागरिक संरचना, कूटनीतिक नियोग तथा मित्रराष्ट्रका हितमा प्रतिकूल असर नपार्ने गरी आन्दोलन अघि बढाउन आग्रह गरे।
उनले अन्त्यमा भने, “नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहनेछ।”












प्रतिक्रिया