काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षबाट प्राप्त वर्तमान उपलब्धि रक्षाका लागि सबै राजनीतिक दल र समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल दलित मुक्ति मोर्चाद्वारा आज आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक गोष्ठीमा अध्यक्ष दाहालले वर्तमानमा प्राप्त संवैधानिक अधिकार संरक्षणका लागि दलित समुदायसहित सबैमा आपसी सहकार्य र समन्वयको खाँचो औँल्याए । जनताको संघर्षबाट प्राप्त वर्तमान उपलब्धि संरक्षणका लागि सबैलाई एकजुट हुन उनले आग्रहसमेत गरे ।
संविधानको प्रस्तावना, धारा २४ र ४० मा दलित समुदायका बारेमा उल्लेख गरिएका अधिकार संरक्षणसँगै प्रभावकारी कार्यान्वयनका लागि दलित समुदायले सडक, संसद् र पार्टीभित्र दबाब सिर्जना गर्नुपर्ने अध्यक्ष दाहालले बताए । उनले सबै क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व गराउन राज्यका अङ्ग र निकायमा जनसङ्ख्याका आधारमा समानुपातिक व्यवस्थासहित निश्चित प्रतिशत थप गर्नुपर्ने धारणा राखे ।
‘हाम्रो पार्टीले दलित समुदायको मुक्तिका लागि राज्यका सबै अङ्ग, निकाय तथा सामाजिक जीवनका सबै क्षेत्रमा विशेष अधिकारसहितको व्यवस्था गर्नुपर्छ भन्ने स्पष्ट नीति अघि सार्दै आएको छ’, अध्यक्ष दाहालले भने । क्षतिपूर्तिसहितको विशेष अधिकार सुनिश्चितताका लागि संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
मोर्चाको नेतृत्वमा दलित समुदायले संविधानको धारा १६, १८, २९, ४० र ४२ मा उल्लेख गरिएका मौलिक हकसहित अन्य कानुनी व्यवस्थालाई समेटेर ‘दलितको अधिकार, प्रतिनिधित्व र विकास ऐन’ निर्माण गरी राष्ट्रिय दलित विकास प्राधिकरण गठन गर्नुपर्ने माग गर्दै आएको छ ।












प्रतिक्रिया