मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने सचिव बैठकका निर्णय

सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने सचिव बैठकका निर्णय


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सङ्घीय सरकारका सचिवहरूको बैठकले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनेलगायत १४ बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । सुशासन, विपद् व्यवस्थापन, सूचना प्रविधि र कानुनी सुधारका विविध पक्ष समेटेर १४ बुँदे निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकमा हालै लागू गरिएको एकीकृत क्याबिनेट सफ्टवेयरबारे जानकारी दिइएको थियो । यस्तै, सरकारका प्रमुख संरचनात्मक सुधार र कार्यसम्पादन मापदण्डलाई कार्यान्वयन गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

Advertisement

बैठकले मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समितिलगायत निकायका सवारीसाधन र प्रयोगकर्ताको विवरण तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, “यदि कुनै पदाधिकारी र कर्मचारीले प्रचलित मापदण्डविपरीत सवारीसाधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने/गराउने, मन्त्रालयमा रहेकासम्पूर्ण सवारीसाधनको विवरण सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पिएएमएस) मा अनिवार्य प्रविष्टि गर्ने व्यवस्था मिलाउने ।”

सुशासन (सञ्चालन तथा व्यवस्थापन ऐन) अनुसार तयार गर्ने प्रयोजनार्थ सबै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोकिएको ढाँचामा यही साउन १५ गतेभित्र प्रगति विवरण पठाउनुपर्ने मुख्यसचिवको सचिवालयले जनाएको छ ।

विपद् व्यवस्थापन

बैठकले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालय र निकाय, सुरक्षा निकाय, विकास साझेदारसँग सहकार्य गरेर काम गर्ने निर्णय गरेको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय, रेडक्रस अभियान तथा गैरसरकारी एवं सामुदायिक संस्थाले आवश्यक पूर्वतयारी तथा खोज, उद्धार र राहतका कार्य गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्रभावकारी ढङ्गले गर्ने व्यवस्था मिलाइनेछ । लाइफलाइन सडकमा भएका अवरोध तत्काल हटाउने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउनुपर्नेछ ।

मनसुनका कारणबाट उत्पन्न हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गरी सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारी अत्यावश्यक काममाबाहेक कार्यस्थल नछाड्ने र बिदामा बस्न नपाइने जनाइएको छ ।

त्यस्तै, जिल्लास्थित कार्यालय प्रमुखले प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरी बिदा नबस्ने, सङ्घीय मन्त्रालयले अत्यावश्यकबाहेक प्रदेशका निकायमा कार्यरत कर्मचारीलाई भौतिक रूपले उपस्थित हुनेगरी बैठक र गोष्ठीमा आमन्त्रण गर्न पाइने छैन ।

डेङ्गी सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै मन्त्रालय, निकाय तथा गराउने लामखुट्टेको बासस्थान र लार्भा खोज तथा नष्ट गर्ने उद्देश्यले साउन, भदौ र असोज तीन महिना हरेक शुक्रबार बिहान सरसफाइ कार्यक्रम तथा प्रचारप्रसार अभियान सञ्चालन गर्नेछ ।

सर्पदंशबाट हुने मृत्युदर घटाउन सचेतना अभियान जोखिम न्यूनीकरण र उपचारको प्रभावकारी व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक व्यवस्था गर्नुपर्नेछ ।

मधेस प्रदेशभर मनसुन याममा पानी नपरेको वा ज्यादै कम पानी परेको कारणले सिँचाइ सुविधा समेतको अभावमा धानबाली लगाउन कठिनाइ भएका सन्दर्भमा सो प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकार भई आमजनतामा सुक्खाजन्य विपद् उत्पन्न भएको छ । खानेपानी तथा सिँचाइको तत्काल समस्या समाधानका लागि आवश्यक पहल र समन्वय गर्न गृह मन्त्रालयले मधेस प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने बैठकले निर्णय गरेको मुख्यसचिवको सचिवालयले जनाएको छ ।

स्थानीयस्तरको पहलबाट समाधान हुन नसक्ने खानेपानी, कृषि तथा सिँचाइजन्य समस्या समाधानका लागि प्रदेश तथा नेपाल सरकारबाट गर्नुपर्ने कार्यका सम्बन्धमा मधेस प्रदेशका सबै जिल्लाका विपद् व्यवस्थापन समितिको बैठकबाट आवश्यक निर्णय गराई गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल विवरण उपलब्ध गराउन भनिएको छ ।

गत आवको कार्यसम्पादन सम्झौता र माइलस्टोनको प्रगति विवरण यही साउन ७ गतेभित्र अनलाइन प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ भने चालु आवका लागि सूचकसहितको कार्यसम्पादन सम्झौता तोकिएको ढाँचामा यही साउन २५ गतेभित्र सम्पन्न गरिसक्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

नागरिकलाई प्रत्यक्ष रूपमा सेवा प्रवाह गर्ने मन्त्रालय र निकायका पदाधिकारीले कानुनले तोकेको समयभित्रै निर्णय गर्नुपर्नेछ । सम्बन्धित मन्त्रालयका सचिवले मातहतका विभाग र कार्यालयले प्रवाह गरेको सेवाको कम्तीमा महिनाको एकपटक अनुगमन गर्नुपर्नेछ ।

चालु आर्थिक वर्षमा सरकारले एक सय २० वटा विधेयक तयार गर्ने प्रतिबद्धता जनाएअनुरूप सम्बन्धित मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी विधेयकको मस्यौदा तयारीको कार्य तत्काल प्रारम्भसमेत भनिएको छ ।

सूचना प्रविधि

विभिन्न मन्त्रालय र विभाग तथा निकायका सफ्टवेयर र सूचना व्यवस्थापन प्रणालीको निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

शेयर गर्नुहोस:

108
Shares