यरुशलम । इरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविराम दोस्रो दिनमा प्रवेश गर्दा क्षेत्रीय अवस्था क्रमशः शान्त हुँदै गएको देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘सफल रूपमा अघि बढिरहेको’ टिप्पणी गरेका छन् । उनको भनाइअनुसार अमेरिकी आक्रमणहरूले इरानको आणविक क्षमतामा गहिरो क्षति पुर्याएको र ‘दशकौँ पछाडि धकेलेको’ दाबी गरिएको छ ।
तर, अमेरिकी गुप्तचर विवरणहरूले ती आक्रमणहरूबाट इरानको सबै सञ्चालित केन्द्रीय उपकरणहरू पूर्णरूपमा नष्ट नभएको उल्लेख गरेका छन् । रिपोर्टका अनुसार केही भूमिगत आणविक भवनहरू अझै सुरक्षित रहेका छन्, जसका कारण कार्यक्रम केही महिना मात्रै पछि धकेलिएको हो ।
यता इजरायली सेनाले इरानको आणविक पूर्वाधारमा ‘महत्त्वपूर्ण क्षति’ पुर्याएको दाबी गर्दै उक्त अभियानले केही वर्षसम्मको ढिलाइ गराएको विश्वास व्यक्त गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘ऐतिहासिक विजय’ भनेका छन् ।
इरानका राष्ट्रपति मसउद पेसेस्कियानले शान्तिपूर्णरूपमा परमाणु ऊर्जा प्रयोग गर्ने आफ्नो देशको अधिकार सुरक्षित रहने बताए । साथै, युद्धको समयमा सीमित गरिएको इन्टरनेट सेवा पुनः सामान्य अवस्थामा फर्काउने प्रक्रिया सुरू गरिएको साइबर शाखाले जनाएको छ ।
इरानले युद्धमा ज्यान गुमाएका वरिष्ठ सैन्य अधिकृत र वैज्ञानिकहरूको सम्मानमा शनिबार राजकीय अन्त्येष्टि गर्ने तयारी गरेको छ । पहिलो दिनै इजरायली कारबाहीमा ज्यान गुमाएका क्रान्तिकारी गाड्र्सका प्रमुख होसेइन सलामीलाई बिहीबार अन्त्येष्टि गरिनेछ ।
इरानी स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ६१० जना सर्वसाधारणको मृत्यु भएको छ भने इजरायली पक्षका अनुसार इरानी आक्रमणबाट २८ जनाको ज्यान गएको छ ।
यता, इजरायलले ईरानको केन्द्रीय बैंकलाई आतङ्कको आर्थिक स्रोतको रूपमा औपचारिकरूपमा घोषणा गर्दै ‘मध्यपूर्वमा आतंकवादलाई प्रोत्साहन गर्ने प्रणाली’ को रूपमा दोष लगाएको छ ।
यसैबीच, इरानी संसदले अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियामक संस्था (आइएइए)सँगको सहकार्य स्थगित गर्ने निर्णय गरेको छ, जुन कानुनीरूपमा लागू हुनका लागि संरक्षक परिषद्को अनुमोदन आवश्यक हुनेछ । एएफपी












प्रतिक्रिया