काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा संवादका निष्कर्षलाई कार्यान्वयन गर्न सरकार कार्य योजना बनाई अघि बढेको बताएका छन् ।
सहास नेपाल, युथ एलान्स फर इन्भाइरोन्मेन्ट, क्रिडाकलगायत संस्थाले संयुक्तरूपमा आयोजना गरेको ‘पोष्ट सगरमाथा संवाद’को उद्घाटनमा उनले संवादको ‘२५ बुँदे सगरमाथा आह्वान’ कार्यान्वयन गर्न सबैसँग समन्वय गरी अघि बढेको जानकारी दिए ।
मन्त्री शाहीले भने, “नेपाल जलवायुबाट बढी प्रभावित मुलुक हो, त्यसमा पनि महिला, बालबालिका, आदिवासी/जनजाति, दलित, लोपोन्मुख समुदाय बढी प्रभावित छन् । त्यस्ता समुदायको आवाज अझ मुखरित गर्न संवादमार्फत सफल भएका छौँ ।”
कार्यक्रममा राष्ट्रियसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) का सभापति ठाकुरप्रसाद गैरेले संवादमार्फत नेपालले जलवायुले हिमालमा पारेको असर विश्वसामु ध्यानाकर्षण गराउन सफल भएको उल्लेख गरे । उनले जलवायुले हिमालदेखि समुद्रसम्म असर गरेको उल्लेख गर्दै जलवायुका नकारात्मक असरविरुद्ध लड्न संवादबाट उद्घोष हुनु नै ठूलो सन्देश भएको बताए ।
कार्यक्रममा पूर्वसचिव मधुकुमार मरासिनीले प्रमुख मन्तव्य प्रस्तुत गर्दै हिमाल हाम्रो पहिचान र सभ्यता भएकाले यसको संरक्षणमा लाग्नु सबैको कर्तत्व भएको बताए । सहास नेपालका कार्यकारी निर्देशक डा. सुरेन्द्रकुमार श्रेष्ठले सगरमाथा संवादका निष्कर्षलाई नीतिमा आबद्ध गर्न र साझा धारणा बनाउन कार्यक्रम गरिएको बताए ।
प्रतिक्रिया