पोखरा । गण्डकी प्रदेश सरकारले प्रेसमैत्री बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आइतबार संसद्मा प्रस्तुत गरेको बजेट प्रेसमैत्री रहेको पाइएको छ ।
पत्रकार तथा सञ्चारसम्बद्ध क्षेत्रमा सरकारले विभिन्न शीर्षकमा बजेट बिनियोजन गरेको जनाएको छ । त्यसो त, गत वर्ष सरकारले आमसञ्चार विधेयक ल्याएसँगै गण्डकीमा प्रेस रजिष्ट्रार नियुक्ति गरिसकेको थियो भने नियमावली पनि पारित गरिसकेको छ ।
सोही प्रेस रजिष्ट्रार कार्यालयको सुदृढीकरण, संचारमाध्यमको दर्ता, नवीकरण एवं प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइन रुपमै उपलब्ध गराउने लगायत कार्यका लागि पौने तीन करोड बजेट विनियोजन गरेको छ ।
लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमलाई निरन्तरता दिँदै श्रमजीवी पत्रकारको क्षमता विकास, संचारमाध्यमको सबलीकरण, समुन्नत गण्डकी रेडियो कार्यक्रम लगायतमा गरी २ करोड बजेट छुट्टाएको छ । यसरी कुल ५ करोड ३० लाख विनियोजन भएको छ ।
आमसञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन महिलाहरुका लागि मिडिया स्टार्टअप कार्यक्रम, पत्रकार कल्याणकारी कोष स्थापना, अग्रज पत्रकार सम्मान, अनुभव अभिलेखीकरण एवं सञ्चार संस्था प्रोत्साहनका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा आमसंचार तथा पत्रकारिताको विकास तथा बिस्तारका लागि विशेष व्यवस्था मिलाइएको डा. गुरुङले बजेटमा प्रस्तुत गरे । पत्रकारलाई प्रोत्साहन स्वरुप क्षमता विकास कार्यक्रम, लेखनवृत्ति कार्यक्रमका लागि पनि बजेट बिनियोजन गरिएको छ ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । उक्त बजेट चालु आवको तुलनामा १ अर्बले कमी हो ।
यसैबीच, सरकारले प्रेसमैत्री बजेट ल्याउनु सकारात्मक भएको प्रेस रजिष्ट्रार बिमला भण्डारीले बताइन् । पत्रिकामा कार्यरत् हकरदेखि रेडियोमा काम गर्ने टेक्टिसियनसम्मलाई दक्ष बनाउने तालिमको लक्ष्य लिइको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड होस् वा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गर्ने सिनेमा संवादलाई पनि आवश्यक बजेट छुट्टाइएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने संचार संस्थालाई पनि प्रोत्साहन रकम छुट्याइएको छ ।
विगतमा नीति तथा योजनामै सञ्चारका कुरा कम प्राथमिकतामा रहने गरेक गरेको उल्लेख गर्दै आगामी वर्षका लागि पत्रकार तथा सञ्चार क्षेत्रका विभिन्न शीर्षकमा बजेट विनियोजन हुनु सुखद पक्ष भएको उनले भनिन् ।
बजेट ल्याउन आफूले निकै पहल गरेको उल्लेख गर्दै यसमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि प्रेस रजिष्ट्रारको कार्यालय स्थापना आफूहरुले गरेको हुँदा बजेट विनियोजन गरी गण्डकीमा प्रेसमैत्री वातावरण सृजना गर्नका लागि पनि निकै सहयोग गरेको स्मरण गरिन् ।












प्रतिक्रिया