पाटन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोहमा सभापति देउवाले व्यावसायिक हक–हितको संरक्षणसँगै आम नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु साझा दायित्व भएको उल्लेख गरे । दुर्घटना न्यूनीकरणको दिशा र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
“कठिन भौगोलिक अवस्थाका कारण देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्न जटिलता रहँदै आएको छ, पछिल्लो समय दिनहुँजसो भइरहेका सवारी दुर्घटनाले आमनागरिकको जीवन र सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ, कांग्रेसले यी समस्यालाई गम्भीरतापूर्वक लिएको छ,” सभापति देउवाले भने ।
यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ लोकतान्त्रिक यातायात व्यवसायी सङ्घमा आबद्ध व्यक्तिको एकताबद्ध प्रयास र सहकार्य आवश्यक हुने उनले बताए । “लोकतान्त्रिक मूल्य मान्यतामा आस्थावान् यातायात व्यवसायीको हक हितका लागि कांग्रेसको सदैव साथ रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु”, सभापति देउवाले भने ।












प्रतिक्रिया